इटालियन सिरी ए

सहज जितसहित इन्टर शीर्ष स्थानमा

मिलान । लाउटारो मार्टिनेजको दुई गोलप्रेरित इन्टर मिलान आइतबार काग्लियारीमाथि ४-० को सहज जितका साथ इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ ।

एसी मिलानले शनिबार युडिनेसीसँग अंक बाँड्दै शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाउँदा इन्टर त्यसको फाइदा उठाउन सफल भयो ।

इन्टरको १७ खेलमा ४० अंक छ,जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको एसी मिलान भन्दा एक अंक बढी हो । एट्लान्टा ३७ अंक जोड्दो तेस्रो स्थानमा छ भने ३६ अंक बटुलेको नेपोली चौथो र ३० अंक जोडेको फियारेन्टिना पाँचौ स्थानमा छ ।

२९औं मिनेटमा मार्टिनेजले इन्टरका लागि गोल खाता खोले । ४४औं मिनेटमा मार्टिनेज पेनाल्टीको सदुपयोग गर्न चुक्दा इन्टरले अग्रता दोब्बर पार्ने अवसर गुमायो ।

५०औं मिनेटमा सान्चेजले इन्टरको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा हकान चालहानोग्लुले इन्टरको अग्रता ३-० मा पुर्याए । त्यसको दुई मिनेटपछि मार्टिनेजले इनटरका लागि चौथो गोल गरे ।