सहिद स्मारक लिग

मनाङको नजर शीर्ष स्थानमा, फ्रेन्डस पहिलो जितको पर्खाईमा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको पहिलो खेलमा फ्रेन्डस क्लबको सामना गर्दा मनाङ मस्र्याङदी  स्पष्ट तीन अंक जोड्दै शीर्ष स्थानमा फर्कन चाहन्छ । 

तीन खेलमा दुई जित र एक बराबरीको नतिजापछि मनाङ सात अंकसहित तेस्रो स्थानमा छ भने समान खेलमा समान सात अंक जोडेको सातदोबाटो युथ शीर्ष स्थानमा छ भने साविक विजेता मच्छिन्द्र पनि समान सात अंक जोड्दै दोस्रो स्थानमा छ ।

पहिलो दुई खेलमा क्रमशः जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबमाथि समान १-० को विजत हात पारेको मनाङ तेस्रो खेलमा भने संकटासँग हारको संकटबाट उम्किएको थियो । दुई पटक पछि परेको मनाङले इन्जुरी समयमा गोल  फर्काउदै हारको संकट टारेको थियो ।

फ्रेन्डसले भने अहिले भने लिगमा जितको स्वाद चाख्न पाएको छैन । तीन खेलमा फ्रेन्डसको मात्र दुई अंक छ ।

पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेलेको फ्रेन्डस दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग पराजित भएको थियो । 

तेस्रो खेलमा भने फ्रेन्डसले उपाधि दाबेदार थ्री स्टारसँग अंक बाँडेको थियो । त्यसैले फ्रेन्डस मनाङविरुद्ध मैदान उत्रदा उच्च मनोबलका साथ मैदान उत्रनेछ । 

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो एक बजे हुनेछ ।