च्याम्पियन्स लिग

चेल्सीले अंक बाँड्यो, युभेन्टस समूह विजेता

मिलान । चेल्सी बराबरीमा रोकिएको दिन माल्मोलाई १-० ले पराजित गर्दै युभेन्टसले च्याम्पियन्स लिगअन्तर्गत समूह ‘एच’ को शीर्ष स्थान पक्का गरेको छ ।

पहिलो हाफमा मोइस केनले गरेको गोल युभेन्टसका लागि तीन अंक जोड्दै शीर्ष स्थान पक्का गर्न पर्याप्त बन्यो । केनले १८औं मिनेटमा बललाई जाली चुमाएका थिए ।

६ खेलमा १५ अंकसहित युभेन्टस शीर्ष स्थानमा रह्यो भने समान खेलमा १३ अंक बटुलेको चेल्सी दोस्रो स्थानमा रह्यो । समूह ‘एच ’बाट युभेन्टस र चेल्सी यसअघि नै नकआउट चरण प्रवेश गरिसकेका थिए । 

पाँच अंकसहित जेनित सेन्ट पिटर्सबर्ग तेस्रो र माल्मो एक अंकका साथ चौथो स्थानमा छ ।

चेल्सीले भने जेनितसँग ३-३ को बराबरीमा रोकिएपछि शीर्ष स्थानमा बस्ने अवसर गुमाएको हो ।