काठमाडौं । दक्षिण एसियामा महिला फुटबलको इतिहास धेरै लामो छैन । खासगरी विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पिरामिडअन्तर्गत महिला राष्ट्रिय टोलीका लागि क्षेत्रीय प्रतियोगिता हुन थालेको डेढ दशक पनि पूरा हुनेक्रममा छ ।
सन् २०१० मा पहिलो पटक बंगलादेशको कक्स बजारमा महिला साफ च्याम्पियनसिपको सुरुआत भएको थियो । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा सुरु भएको प्रतियोगिताले अहिलेसम्म ६ संस्करण पूरा गरेको छ । यसक्रममा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले एक/एक पटक प्रतियोगिता आयोजना गर्दा नेपालले दुई पटक साफ महिला च्याम्पियनसिपका लागि दक्षिण एसियाली प्रतिद्वन्द्वीहरूलाई आतिथ्यता दिइसकेको छ । सर्वाधिक आयोजनाको कीर्तिमानमा अर्को एक संस्करण यही महिना थपिँदै छ । नेपालले बिहीबारदेखि सातौं महिला साफ च्याम्पियनसिप दशरथ रंगशालामा आयोजना गर्दै छ ।
लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्नेक्रममा नेपाली टोलीसामु एउटै लक्ष्य हुनेछ, पहिलो पटक उपाधि जित्ने । यसअघि पाँच पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको पीडामा यसपालि च्याम्पियन भएर मलम लगाउने लक्ष्यमा राष्ट्रिय महिला टोलीले तयारी थालेको धेरै भइसक्यो । नेपालीको महान चाड दसैंमा समेत एक दिनमात्र आराम गरेर बाँकी दिन अभ्यासमा बगाएको पसिनाको एउटै गन्तव्य उपाधि हुने अपेक्षा गरिएको छ ।
पहिलो संस्करण सन् २०१० मा बंगलादेशले आयोजना गर्यो । त्यसको दुई वर्षपछि श्रीलंका तथा २०१४ मा पाकिस्तानले साफ महिला च्याम्पियनसिप आयोजना गरेको थियो । चौथो संस्करण २०१६ को डिसेम्बर अन्त्यमा सुरु भएर सन् २०१७ को जनवरीसम्म भारतको सिलिगुढीमा भयो । त्यसपछि सन् २०१९ मा पाँचौं तथा सन् २०२२ मा छैटौं संस्करण लगातार नेपालले आयोजना गरेको हो ।
सातौं संस्करण बिहीबार सुरु हुँदा दक्षिण एसियाका सबै सात टोली मैदानमा देखिने छन् । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गर्ने ‘ड्र’ चार महिनाअघि नै बंगलादेशमा सम्पन्न भइसकेको छ । जसअनुसार समूह ‘ए’मा महारथी भारत, बंगलादेश र पाकिस्तान छन् । समूह ‘बी’मा आयोजक नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटानको रहेको छ ।
प्रतियोगिताको पहिलो पाँच संस्करणमा भारत तथा दशरथ रंगशालामा सन् २०२२ मा सम्पन्न छैटौं संस्करणमा बंगलादेशले उपाधि जितेको थियो । संयोग कस्तो भने चौथो संस्करणबाहेक सबै अवसरमा नेपाल फाइनल पुगेको छ ।
दशरथ रंगशालाले दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको सातौं संस्करण आयोजनाको तयारी गरिरहँदा खेलाडी डटकमले प्रतियोगिताको विगत फर्कने जमर्को गरेको छ ।
पहिलो संस्करण (सन् २०१०, बंगलादेश)
बंगलादेशको कक्स बजारमा सन् २०१० को डिसेम्बरमा साफ महिला च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुँदा आठ टोलीको सहभागिता थियो । त्यतिबेला अफगानिस्तान पनि दक्षिण एसियाली फुटबल महासंघ (साफ)को सदस्य भएकाले प्रतियोगिताको हिस्सा बनेको हो ।
लिगकम नकआउट प्रणालीमा आयोजित प्रतियोगिताको समूह ‘ए’मा भारत, बंगलादेश, श्रीलंका र भुटान तथा समूह ‘बी’ मा नेपाल, पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान थिए ।
समूह ‘ए’ का सबै तीन खेल जितेर ९ अंक जोडेको भारतसँगै दुई जितसाथ ६ अंक बटुलेको बंगलादेशले सेमिफाइनलको यात्रा तय गरेको थियो । समूहमा एकअर्काविरुद्धको खेलमा बराबरी खेल्दै अंकको खाता खोलेका श्रीलंका र भुटान पहिलो चरणबाटै घर फर्कियो ।
समूह ‘बी’ बाट शतप्रतिशत नतिजाबाट ९ अंकसहित विजेता भएर नेपाल सेमिफाइनल पुग्दा दुई खेल जितेर ६ अंक जोडेको पाकिस्तान उपविजेता बनेर अन्तिम चार प्रवेश गर्यो । यो समूहमा पनि एकअर्काविरुद्धको खेलमा बराबरी नतिजा निकाल्दै अंकविहीन हुनबाट जोगिएका माल्दिम्स र अफगानिस्तान पहिलो चरणबाटै घर फर्कियो ।
नेपालले समूह चरणमा माल्दिभ्समाथि ६-० को अन्तरमा जित हासिल गर्दै साफ महिला च्याम्पियनसिपमा सुखद सुरुआत गर्दा अफगानिस्तानलाई १३-० को फराकिलो अन्तरमा हराएको थियो । पाकिस्तानमाथि पनि १२-० को जित निकालेको टोलीले समूह चरण सकिँदासम्म आफ्नो पोस्ट पूर्ण रूपमा सुरक्षित राख्दै विपक्षी पोस्टमा ३१ गोल वर्षाएको थियो ।
सेमिफाइनलमा बंगलादेशलाई विपक्षीका रूपमा पाउँदा नेपाल ३-० ले विजयी भयो । प्रतियोगिताको इतिहासमा पहिलो चार खेलमा नेपालले एउटै गोल खानुपरेन भने विपक्षी पोस्टमा गरेको गोलसंख्या ३४ पुग्यो । उता अर्को सेमिफाइनलमा भारतले पाकिस्तानमाथि ८-० को प्रभावशाली जित दर्ता गरेको थियो ।
फाइनलमा पुगेपछि नेपालको विजय यात्रा रोकियो । अर्को अविजित टोलीले कक्स बजार रंगशालामा नेपालको विजयी लयलाई १-० को नतिजासहित पूर्णविराम लगायो । पहिलो संस्करणमा उपाधि जित्ने नेपालको उद्देश्य थाँती रह्यो ।
भारतले भने प्रतियोगिताका ५ खेलमा एक गोल पनि नखाई सबै खेल जितेर पहिलो महिला साफ च्याम्पियनसिपको उपाधि हत्यायो । त्यसक्रममा टोलीले आफ्नो पोस्ट पूर्ण रूपमा सुरक्षित राख्दा विपक्षी पोस्टमा कुल ४० गोल गरेको थियो ।
समूह चरणमा भुटानमाथि १८-० को जित हासिल गरेको टोलीले श्रीलंकालाई ७-० र बंगलादेशलाई ६-० को नतिजामा हराएको थियो ।
दोस्रो संस्करण (श्रीलंका, सन् २०१२)
दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिपको दोस्रो संस्करण श्रीलंकाको कोलम्बोमा सन् २०१२ को सेप्टम्बर ७ देखि १६ सम्म सम्पन्न भयो । पहिलो संस्करणमा जस्तै सबै आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा उपाधि जित्ने नेपालको लक्ष्यमा यसपालि पनि भारत बाधक बन्यो । फाइनलमा नेपालमाथि ३-१ को जित दर्ता गराउँदै भारतले लगातार दोस्रो पटक उपाधि जित्यो ।
प्रतियोगिता यसपालि पनि लिगकम नकआउटमा भएको थियो । जहाँ समूह चरणमा नेपालले अफगानिस्तान, पाकिस्तान र माल्दिभ्ससँग समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गर्यो भने समूह ‘बी’ मा भारतसँगै श्रीलंका, बंगलादेश र भुटान थिए ।
समूह ‘ए’ मा सबै तीन खेल जितेको भारत ९ अंकसहित विजेता बन्यो भने २ खेल जितेर ६ अंक जोडेको श्रीलंका उपविजेता बनेर सेमिफाइनल पुग्यो । भारत र श्रीलंकासँग हारे पनि भुटानलाई १-० को नतिजामा हराएको बंगलादेश ३ अंकमा सीमित भयो । तथापि टोली सबै तीन खेल हारेको भुटानसँगै पहिलो चरणबाटै घर फर्कियो ।
नेपालले पनि भारतले जस्तै आफ्नो समूहका सबै तीन खेल जितेर विजेताको हैसियतमा अन्तिम चारको यात्रा तय गर्यो । एक जित र एक बराबरी खेल्दै ४ अंक बटुलेको अफगानिस्तान उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा एक जितसहित ३ अंक जोडेको पाकिस्तान र एक बराबरीमा सीमित माल्दिभ्स पहिलो चरणबाटै बाहिरिए ।
जमुना गुरुङको ह्याट्रिकप्रेरित नेपालले प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्समाथि ८-० को रवाफ जमायो । नेपालबाट जमुना एक्लैले चार गोल गर्दा प्रमिला राई, सजना राना, अनु लामा र दीपा अधिकारीले एक/एक गोल गरे ।
दोस्रो खेलमा माल्दिभ्समाथि नेपालले ५-० को जित हासिल गर्यो । माल्दिभ्सविरुद्धको खेलमा पनि जमुनाले ह्याट्रिक गरिन । बाँकी दुई गोल दीपा र अनुको नाम थियो । जमुनाको स्कोरिङ फर्मले निरन्तरता पाउँदा समूहको अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि ७-१ को जित दर्ता गरायो । तर यो खेलमा जमुनाले एक गोलमात्र गरिन । अनु, सजना र निरु थापाले दुई-दुई गोल गरे ।
अनु, दीपा र लक्ष्मी पौडेलले गोल गरेपछि सेमिफाइनलमा नेपालले श्रीलंकाको चुनौती ३-० को नतिजामा सहजै पन्छायो । उता भारतले भने अफगानिस्तानलाई ११-० को फराकिलो अन्तरमा निराश पारेर अघिल्लो संस्करणझै नेपालविरुद्धको फाइनल भिडन्त पक्का गर्यो । फाइनलमा फेरि भारतसँग पराजित हुँदा नेपालका लागि एकमात्र गोल दीपाले गरेकी थिइन ।
लगातार दुई खेलमा ह्याट्रिक गरेकी जमुना ८ गोलसहित प्रतियोगिताकै उच्च गोलकर्ता भइन । त्यसबाहेक नेपालका लागि अनुले ५, दीपाले ४ तथा सजनाले ३ गोल गरेका थिए । निरुले २ तथा प्रमिला र लक्ष्मीले एक–एक गोल गरे ।
तेस्रो संस्करण (पाकिस्तान, सन् २०१४)
पाकिस्तानको इस्लामाबादस्थित जिन्हा स्पोर्टस कम्प्लेक्सले सन् २०१४ को नोभेम्बर ११ देखि २१ सम्म तेस्रो महिला साफ च्याम्पियनसिप आयोजना गर्यो । यसपालि पनि प्रतियोगितामा अघिल्ला दुई संस्करणजस्तै सबै आठ टोलीको सहभागिता थियो ।
लिगकम नकआउट प्रणालीमै समूह ‘ए’ मा भारत, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान तथा समूह ‘बी’ मा नेपाल, आयोजक पाकिस्तान, श्रीलंका र भुटान रहेका थिए ।
नेपालका लागि यसपालि पनि प्रतियोगिता सुखद रहेन । समूह चरणकासबै खेल जितेर विजेता हुँदै सेमिफाइनल पुगेको नेपाल फेरि पनि फाइनलमा भारतसँग निराश हुनपुग्यो । नेपालको समूहबाट दुई जितका साथ ६ अंक जोडेको श्रीलंका उपविजेताको हैसियतमा सेमिफाइनल पुग्दा एक खेल जितेको पाकिस्तान र सबै खेल हारेको भुटान पहिलो चरणबाटै बाहिरिए ।
समूह चरणमा भुटानमाथि ८-० को जित हासिल गर्दै सुखद सुरुआत गरेको नेपालले दोस्रो खेलमा घरेलु टोली पाकिस्तानमाथि २-० र अन्तिम खेलमा श्रीलंकामाथि ३-० को जित हासिल गर्यो ।
समूह चरणमा एकै गोल नखाई १३ गोल गर्ने क्रममा नेपालका लागि भुटानविरुद्ध सजना राना, दीपा अधिकारी र अनु लामाले २-२ तथा मेनुका गिरी र सावित्रा भण्डारीले १-१ गोल गरे । पाकिस्तानविरुद्ध सजना र अनुले गोलमा नाम लेखाउँदा श्रीलंकालाई हराउँदा अनुले २ तथा निरु थापाले १ गोल गरेका थिए ।
सेमिफाइनलमा अर्को समूहबाट उपविजेताको हैसियतमा आएको बंगलादेशमाथि नेपालले १-० को जित हासिल गरेको थियो । नेपालको फाइनल यात्रा पक्का गर्न सजनाले पेनाल्टीमा गरेको एउटै गोल पर्याप्त भयो । बंगलादेश समूहका तीनमध्ये दुई खेल जित्दै सेमिफाइनल पुगेको थियो । सबै खेल जितेको भारत ९ अंकसहित सेमिफाइनल पुग्दा एक खेल जितेको माल्दिभ्स र सबै खेलमा हारेको अफगानिस्तानको यात्रा पहिलो चरणमै टुंगियो ।
समूह ‘ए’ का सबै खेल जितेर अगाडि बढेको भारतले अन्तिम चारमा श्रीलंकामाथि ५-० को जित हासिल गर्यो । भारतले फेरि एकपटक फाइनलमा नेपाललाई निराश पार्दै उपाधिमा ह्याट्रिक गर्यो । फाइनलको नतिजा यसपालि भारतले ६-० ले आफ्नो पक्षमा पारेको थियो ।
चौथो संस्करण (भारत, सन् २०१६/०१७)
प्रतियोगिताको पहिलो तीन संस्करणमा लगातार उपाधि जितेको भारतले आफैं महिला साफ च्याम्पियनसिप आयोजना गरेको यो पहिलो अवसर थियो ।
सिलिगुढीस्थित कञ्चनजंघा रंगशालामा सन् २०१६ को डिसेम्बर २६ देखि २०१७ जनवरी ४ सम्म आयोजना गरेको प्रतियोगिताको चौथो संस्करणमा पनि भारतले उपाधि आफैंसँग राख्यो । तर यसपल्ट भारतले फाइनलमा भने नेपालसँग खेल्नुपरेन । यसअघि सधैं फाइनलमा भेट हुँदै आएका नेपाल र भारतबीच सेमिफाइनलमै भिडन्त भएको थियो । जहाँ नेपाललाई ३-१ को नतिजामा हराइसकेको घरेलु टोलीले फाइनलमा बंगलादेशमाथि ३-१ को जितसहित लगातार चौथो पटक उपाधि जित्यो ।
भारतले प्रतियोगिता आयोजना गर्दा उसको चिर राजनीतिक प्रतिद्वन्द्वी छिमेकी पाकिस्तानको सहभागिता थिएन । सात टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान थिए भने समूह ‘बी’ मा आयोजक भारतसहित बंगलादेश र अफगानिस्तान थिए ।
भारतका लागि आफैंले आयोजना गरेको प्रतियोगिता अघिल्ला तीन संस्करण जस्तो सहज रहेन । समूह चरणमा अफगानिस्तानलाई ५-१ को नतिजामा हराए पनि बंगलादेशसँग गोलरहित बराबरी नतिजा निकालेको टोली उपविजेता बनेर सेमिफाइनल पुग्यो । समान ४ अंक भए पनि अफगानिस्तानलाई ६-० को नतिजामा हराएको बंगलादेश गोलअन्तरमा माथि रहँदै विजेताको हैसियतमा माथि उक्लिएको थियो ।
यता नेपालले भने समूहका सबै तीन खेलमा जित हासिल गर्दै ९ अंकसहित सेमिफाइनल यात्रा तय गरेको थियो । दक्षिण एसियाको गोल मेसिनका रूपमा सावित्रा भण्डारीको उदय भएको प्रतियोगितामा भुटानमाथि नेपालले ८-० को जित हासिल गर्यो । जहाँ सावित्राले एक्लैले ६ गोल गरिन भने शर्मिला थापा र कृष्णा खत्रीको नाममा १–१ गोल रह्यो ।
यसैगरी माल्दिभ्सलाई ९-० को अन्तरमा हराउँदा पनि सावित्राले एक्लैले ५ गोल गरिन भने मञ्जलीकुमारी योन्जन, सपना लामा, हीराकुमारी भुजेल र निर्मला बिकेले १-१ गोल गरेका थिए । विपक्षी खेलाडीको आत्मघाती गोलमा नेपालले समूहको अन्तिम खेलमा श्रीलंकालाई १–० को नतिजामा निराश पार्यो ।
सेमिफाइनलमा माल्दिभ्सलाई ६-० को नतिजामा हराएको भारतले फाइनलमा बंगलादेशलाई निराश पार्यो । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्न असफल भए पनि यही प्रतियोगिताबाट सावित्राको सनसनीपूर्ण उदय भएको थियो । प्रतियोगिताका ४ खेलमा १२ गोल गरेकी सावित्रा उच्च गोलकर्ता बनिन ।
पाँचौं संस्करण (नेपाल, सन् २०१९)
दक्षिण एसियाको महिला फुटबलमा महारथी छवि बनाएको नेपालले सन् २०१९ मा पहिलो पटक महिला साफ च्याम्पियनसिप आयोजना गरेको हो । विराटनगरस्थित सहिद रंगशालामा मार्च १२ देखि २२ सम्म पाँचौं महिला साफ च्याम्पियनसिप भयो ।
फेरि पहिलो तीन संस्करणमा जस्तै यसपल्टको फाइनल नेपाल र भारतबीच भयो । जहाँ भारतले फेरि एकपटक आफूलाई दक्षिण एसियाको निर्विवाद महारथीका रूपमा प्रमाणित गर्यो । नेपाललाई फाइनलमा ३-१ ले हराउँदै भारत लगातार पाँचौं पटक च्याम्पियन बन्यो ।
अफगानिस्तानले सन् २०१४ मै दक्षिण एसियाबाट मध्यएसियामा आफूलाई सरुवा गराइसके पनि २०१६ को संस्करणमा भाग लिएको थियो । तर यसपल्टबाट अफगानिस्तान अनुपस्थित रहन थाल्यो । अन्तिम समयमा पाकिस्तान पनि सहभागी नभएपछि प्रतियोगितामा ६ टोलीबीच मात्र प्रतिस्पर्धी थिए ।
पहिलाजस्तै लिगकम नकआउट प्रणालीमा भएको प्रतियोगिताको समूह ‘ए’मा आयोजक नेपालसहित बंगलादेश र भुटान थिए भने समूह ‘बी’मा चार पटकको साबिक विजेता भारतसहित श्रीलंका र माल्दिभ्स थिए ।
समूह ‘ए बाट दुवै खेल जितेको नेपाल समूह विजेता तथा एक खेल जितेको बंगलादेश उपविजेताको हैसियतमा सेमिफाइनल पुगे । दुवै खेल हारेको भुटान पहिलो चरणबाटै घर फर्कियो ।
नेपालले समूहमा भुटान र बंगलादेशविरुद्धका दुवै खेलमा ३-० को विजयी नतिजा निकालेको थियो । भुटानलाई हराउँदा सावित्रा भण्डारी, मञ्जलीकुमारी योञ्जन र निरु थापाले गोल गरेका थिए भने बंगलादेशविरुद्ध सावित्रा र मञ्जलीले गोल गरे । एक गोल विपक्षी खेलाडीको आत्मघाती थियो । समूहको अर्को खेलमा बंगलादेशले भुटानलाई २-० ले हरायो ।
अर्को समूहबाट माल्दिभ्सलाई ६-० र श्रीलंकालाई ५-० ले हराएको भारत ६ अंकसहित विजेता तथा माल्दिभ्सलाई २-० ले हराएको श्रीलंका उपविजेताको रूपमा सेमिफाइनल पुगेका थिए ।
सेमिफाइनलमा नेपालले श्रीलंका तथा भारतले बंगलादेशलाई ४-० को समान अन्तरमा पराजित गरेको थियो । नेपालको जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा र रेखा पौडेलले गोल गरेका थिए । फाइनलमा सावित्राले नेपालका लागि एक गोल गरे पनि खेल भारतले ३–१ को नतिजामा जित्यो ।
यसपालि पनि सावित्रा प्रतियोगिताको उच्च गोलकर्ता बनिन । तर यसपाली ४ गोलमात्र गर्न सकेकी उनले उत्तिकै संख्यामा गोल गरेकी भारतीय खेलाडी इन्दुमथी काथिरेसानसँग उच्च गोलकर्ताको ट्रफी बाँड्नुपर्यो ।
छैटौं संस्करण (नेपाल, सन् २०२२)
नेपालले लगातार दोस्रो पटक प्रतियोगिता आयोजना गर्दा यसपालि राजधानीको दशरथ रंगशालाले दक्षिण एसियाका सबै सात टिमलाई आतिथ्यता प्रदान गर्यो । नेपालले फेरि एक पटक फाइनल यात्रा तय गरे पनि पहिलो पटक उपाधि जित्न भने सकेन ।
महिला साफ च्याम्पियनसिपले बंगलादेशको नाममा नयाँ च्याम्पियन पाउँदा भारतको वर्चस्व तोडियो । नेपाल र बंगलादेशसँग गरी दुुई खेलमा पहिलो पटक पराजित भएको भारत फाइनल पुग्न असफल रह्यो । केही वर्षदेखि योजनाबद्ध रूपमा महिला फुटबलमा लगानी गरेको बंगलादेशले पहिलो पटक च्याम्पियन हुने क्रममा फाइनलमा आयोजक नेपालमाथि ३–१ को जित दर्ता गराएको थियो ।
दक्षिण एसियाका सबै सात टिम सहभागी भएको प्रतियोगिताको समूह ‘ए’मा साबिक विजेता भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स तथा समूह ‘बी’मा आयोजक नेपाल, भुटान र श्रीलंका थिए ।
आफ्नो समूहमा दुवै खेल जितेको नेपाल ६ अंकसहित विजेता तथा एक खेल जितेको भुटान उपविजेताको हैसियतमा अन्तिम चारमा पुगेको थियो । नेपालले सावित्रा भण्डारी र अनिता बस्नेतको २-२ गोलमा भुटानलाई ४-० तथा रश्मिकुमारी घिसिङ, सरु लिम्बू, अमृता जैसी, दीपा शाही र अमिशा कार्कीको गोलमा श्रीलंकामाथि ६-० को जित हासिल गरेको थियो । समूहको अर्को खेलमा भुटानले श्रीलंकालाई ५-० ले हरायो ।
अर्को समूहबाट सबै तीन खेल जित्दै बंगलादेश ९ अंक जोडेर विजेता हुँदै अगाडि बढ्यो । बंगलादेशसँग ३-० को नतिजामा पराजित भारत भने ६ अंक बोकेर उपविजेताको हैसियतमा सेमिफाइनल पुग्यो । प्रतियोगिताको इतिहासमा भारतले हार भोगेको यो पहिलो खेल थियो ।
सेमिफाइनलमा रश्मिकुमारीको एकमात्र गोल निर्णायक बन्दा नेपालले प्रतियोगिता इतिहासमै पहिलो पटक भारतमाथि १-० को जित दर्ता गरायो । यसअघि प्रतियोगिताका सबै पाँच संस्करणमा भारतसँग भोगेको हारको बदला लिन सफल भए पनि उपाधि भने नेपालको भाग्यमा थिएन ।
निकै जुझारु र क्षमतावान टोली लिएर आएको बंगलादेशले फाइनलमा ३–१ को विजय हासिल गर्दै पहिलो पटक उपाधि उचाल्यो । अनिताले गरेको एकमात्र गोल ठूलो संख्यामा दशरथ रंगशालामा उपस्थित घरेलु समर्थकका लागि सान्त्वनामा सीमित हुँदा नेपालको उपाधि जित्ने लक्ष्य फेरि पूरा हुन सकेन ।