च्याम्पियन्स लिग

बायर्न समूह विजेता, बार्सिलोनाले मौका चुकायो

किभ । रोबर्ट लेवान्डोवस्कीले च्याम्पियन्स लिगमा गोल गर्ने क्रमलाई मंगलबार राति सनसनीपूर्ण पारामा निरन्तरता दिँदा बायर्न म्युनिख डिनामो किभमाथि २-१ को जित हासिल गर्दै च्याम्पियन्स लिग समूह ‘इ’मा विजेताको हैसियत सुरक्षित गर्न सफल भएको छ ।

युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको लगातार नवौं खेलमा लेवान्डोवस्कीले गोल गरेपछि हिउँ झर्दै गरेको किभको ओलम्पिक रंगशालामा बायर्नले जित पक्का गरेको थियो ।

च्याम्पियन्स लिगमा लगातार नवौं खेलमा गोल गर्ने सफलता लेवान्डोवस्कीले मंगलबारको गोलसँगै दोस्रो पटक हासिल गरे । यस्तो सफलता पाउने उनी एक्लो खेलाडी हुन् । यसअघि एक पटक लगातार नवौं खेलसम्म रुड भान निस्टेलरोय तथा ११ खेलसम्म क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए ।

यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको जर्मन महारथी बायर्नलाई समूहबाट विजेताको हैसियत पक्का गर्न मंगलबार एक अंकमात्र आवश्यक थियो । तर लेवान्डोवस्कीले १४औं मिनेटमा ओभरहेड किकमार्फत अग्रता दिलाएको टोलीका लागि मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा किङस्ले कोम्यानले अर्को गोल थप्दै जित पक्का गरेका थिए ।

समय सकिन २० मिनेट बाँकी रहँदा डेनिस हार्मसले घरेलु टोलीका लागि एक गोल फर्काए पनि त्यो अंक बाड्न पर्याप्त भएन । एक अंकका साथ पुछारमा सीमित किभ यो हारपछि प्रतियोगिताबाट एक खेल अगाडि नै औपचारिक रुपमा बाहिरिएको छ ।

समूहको अर्को खेलमा बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनाले नकआउट चरण पुग्ने मौका खेर फालेको छ । स्पेनिस महारथीले अब अन्तिम १६ यात्राका लागि अन्तिम खेलमा बायर्न म्युनिखमाथि जित हासिल गर्नुपर्नेछ ।

घरेलु क्याम्प नोउको मैदानमा जाभीको बार्सिलोनाले बल पोसेसनमा अधिकांस समय नियन्त्रण राखे पनि विजयी गोल भने निकाल्न सकेन ।

बराबरीपछि पाँच खेलको समाप्तीमा सात अंकसहित बार्सिलोना समूहको दोस्रो स्थानमा छ । बेन्फिका पाँच अंकसहित तेस्रो स्थानमा छ ।

समूह चरणको अन्तिम खेलमा दुई सातापछि बार्सिलोनाले बायर्नको भ्रमण गर्दा बेन्फिकाले डिनामो किभलाई आतिथ्य प्रदान गर्नेछ ।