सहिद स्मारक लिग

लिगको तालिका परिवर्तन, पहिलो दुई चरणका सबै खेल दशरथ रंगशालामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो मंसिर तीन गतेदेखि गर्ने भनेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको तालिका परिवर्तन गरेको छ ।

शुक्रबार, शनिबार र आइतबार गरी हप्तामा तीन दिनमात्र गर्ने भनिएको लिग सोमबार पनि गर्ने गरी एन्फाले पहिलो दुई चरणका लागि १४ खेलको नयाँ तालिका सार्वजनिक गरेको छ ।

एन्फाको लिग कमिटीले दशरथ रंगशाला र सातदोबाटोको एन्फा मुख्यालय मैदानमा नियमित लिगका खेल आयोजना गर्ने तथा च्यासललाई पनि बैकल्पिक मैदानका रुपमा राख्ने बताएको थियो ।

कमिटीले पोखरा रंगशालालाई मनाङ मर्सयाङदी क्लबको घरेलु मैदानको रुपमा प्रयोग गरी केही खेल उता पनि लाने बताएको थियो ।

तर लिग सुरु नहुँदै तालिका परिवर्तन गर्ने क्रममा एन्फाले पहिलो दुई चरणका सबै खेल दशरथ रंगशालामा गर्ने भएको छ ।

नयाँ तालिकाअनुसार फ्रेन्ड्स क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेलबाट शुक्रबार दिउसो पौने पाँच बजे यसपालीको लिग सुरु हुनेछ ।

यसैगरी पहिलो हप्ताका बाँकी ६ खेल शनिबार, आइतबार र सोमबार हुनेछन् । शनिबार हिमालयन शेर्पा क्लब र संकटा क्लब तथा च्यासल युथ क्लब र थ्री स्टार क्लबका बीच खेल हुनेछन् ।

आइतबार ब्रिगेड ब्वाइज क्लब र एपिएफ फुटबल क्लब तथा जावलाखेल युथ क्लब र मनाङ मर्सयाङदी क्लबले एक–अर्काको सामना गर्नेछन् । त्यस्तै सोमबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा साविक विजेता मछिन्द्र क्लब र न्युरोड टिमबीच प्रतिस्पर्धा हुनेछ ।