कतार विश्वकप २०२२

कतार विश्वकपमा पोर्चुगल छनोट हुने सान्तोसको दाबी

लिस्बन । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो टोलीले विश्वकपमा स्थान बनाउने दाबी गरेका छन् । 

विश्वकप छनोटअन्तर्गत आइतबार  सर्वियासँग २-१ ले पराजित भएपछि पोर्चुगलले प्लेअफ खेल्नुपर्ने भएको हो । 

सर्बियाविरुद्धको खेलअघि समूह ए को शीर्ष स्थानमा बसेको पोर्चुगललाई बराबरीको नतिजा मात्र पनि कतारको टिकट काट्नका लागि पर्याप्त थियो ।

तर सर्बियालाई नतिजा सुम्पिएसँगै पोर्चुगल दोस्रो स्थानमा झर्यो र सान्तोसको टोलीलाई प्लेअफको साहारा लिनु पर्ने भएको हो ।

‘खेलाडीहरुले अन्तिमसम्म सुखद नतिजाका लागि प्रयास गरे । तर हामीले खेलको नतिजा परिवर्तन गर्न सकेनौं । सर्वियन टोलीले राम्रो थियो । हाम्रो सम्पूर्ण ध्यान बलमा केन्द्रित थियो,’ सान्तोसले भने, ‘हाम्रो टोली कतार विश्वकपमा हुनेछ । हामीलाई आफूले चाहेअनुरुप गर्न सक्दैनौं भन्ने थाहा छ ।  हामी सबै अर्को वर्ष कतारमा हुनेछौं ।’

विश्वकपको युरोपियन छनोटअन्तर्गत समूह ‘ए’ को दोस्रो स्थानमा रहेको पोर्चुगलले आठ खेलमा १७ अंक जोड्यो । समूहको शीर्ष स्थान रहेको सर्वियाले समान खेलमा २० अंक जोड्दै विश्वकपको टिकट काटेको हो ।