उपमेयर कप राष्ट्रिय महिला फुटबल

राष्ट्रिय लिगमा विभागिय टोलीलाई कडा चुनौती दिन्छौः धनगढीका प्रशिक्षक कार्की

काठमाडौं । धनगढी उपमहानगरपालिकाका प्रशिक्षक राघविन्दर कार्कीले अबको लक्ष्य राष्ट्रिय लिगमा दिरिलो उपस्थिती जनाउने रहेको बताएका छन् ।

’हाम्रा खेलाडीले अनुशासित भएर भनेको जस्तो खेलिदिए, जसको कारण यो नतिजा आयो, म एकदमै खुशी छु । अबको लक्ष्य राष्ट्रिय लिगमा पनि राम्रो नतिजा ल्याउने हो’ उनले खेलाडीसँगको कुराकानीमा भने, ’यो प्रतियोगिता खेल्न सुदुरपश्चिमबाट पाँच टोली आएका थिए । त्यसमध्ये हामी भाग्यमानी भयौ ।’

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सम्पन्न उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको च्याम्पियन बनेको धनगढीले ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा  ३-१ ले हराउँदै उपमेयर कपको उपाधि उचालेको थियो ।

३१ टोली सहभागी छनोट प्रतियोगिताका विजेता र उपविजेता पुसमा आयोजना हुने राष्ट्रिय महिला लिगका लागि छनोट भइसकेका छन् । 

जहा साविक विजेता एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, रौतहतको चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिका रहेका छन् । उपयमेयर कपको विजेता र उपविजेता छनोट भएपछि अब कुल आठ टोलीले लिगमा प्रस्पिर्धा गर्नेछन् ।

लिगको लागि पाँच टोलिबाट राम्रा खेलाडीहरु जम्मा गरेर राम्रो टोली निर्माण गरेर विभागिय टोलीलाई कडा टक्कर दिने अबको योजना रहेको प्रशिक्षक कार्की बताउँछन् ।

’हाम्रो नगरपालिकाले सबै कुराको व्यवस्थापन गर्दा आज राम्रो नतिजा आयो फेरि पनि हामी नगरपालिकालाई अनुरोध गरेर राम्रो तयारीका साथ आउनेछौ । विभागलाई कडा टक्कर दिनेमा म पूर्ण रुपमा विश्वस्त छु,’ उनले भने ।

प्रतियोगितामा धनगढीकी उषा नाथ उत्कृष्ट गोलकिपर, रक्षक ललितपुरकी सृजना सिह, धनगढीकी सरस्वती रोकाया मिडफिल्डर, धनगढीकी चन्द्रा भण्डारी फर्वाड, धनगढीका रघवन्दर कार्की उत्कृष्ट प्रशिक्षक घोषित भएसँगै सबैले समान २० हजार रुपैयाँ प्राप्त गरे ।

उपमेयर कपको सर्वोत्कृष्ट खेलाडी झापाको कन्काइ नगरपालिकाकी दिपा शाही भइन । उनले ५० हजार रुपैयाँ प्राप्त गरिन ।