उपमेयर कप राष्ट्रिय महिला फुटबल

इन्दिराको ह्याट्रिकमा रोङ गाउँपालिका क्वार्टरफाइनलमा

काठमाडौं । इन्दिरा राईको ह्याट्रिकप्रेरित रोङ गाउँपालिकाले दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४-१ ले हराउँदै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा रोङ गाउँपालिकाको लागि इन्दिराको ह्याट्रिकसँगै अनिता राईले एक गोल गरिन् ।

रोङलाई तीन राष्ट्रिय खेलाडी विमला विक, इन्दिरा राई, दिपा राईको साथ थियो । उनीहरु त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । त्यस्तै टोलीमा एपिएफकी गोलकिपर रुपा राना मगर पनि समावेश थिइन् ।

तुलरीपुरकी ममता पुन मगरले सान्त्वना एक गोल फर्काइन् ।

रोङकी इन्दिरा खेलको प्लेअर अफ दी म्याच बनिन् । उनले पाँच हजार रुपैंयासहित ट्रफी पाइन् ।

 रोङले सेमिफाइनल प्रवेशका लागि समूह ‘एफ’ को विजेता कैलालीको गौरीगंगा नगरपालिकासँग खेल्नेछ ।