इराकमा महिला फुटबल

इराकमा महिला फुटबल प्रशिक्षण : मुर्छित सपना ब्युताउँदै

बार्टला । इराकको बार्टला सहरमा आफ्ना प्रशिक्षकहरुबाट प्रेरित, केही क्रिस्चियन महिला मैदानमा बल प्रहार गरिरहेका छन् । बार्टला जेहादीहरुको एउटा गढ हो, जहाँ फुटबलले उनीहरुको सुखद भविष्यको सपना साकार पार्न मद्दत गरिहेको छ ।

सन् २०१४ मा इस्लामिक स्टेट (आइएस) ले उत्तरी प्रान्त निनेभाह हुँदै बार्टलामा आफ्नो प्रभुत्व स्थापना गर्यो । यसपछि महिला र केटीहरुलाई इस्लामको कठोर व्याख्याको अधिनमा राख्यो ।

आइएसलाई पराजित गरेको चार वर्षपछि लगभग एक हजार चार सय परिवार यस सहरमा फर्किएर फेरी जीवनयापनलाई सामान्य बनाउन प्रयासरत छन् ।

बार्टला एक समय जेहादीहरुको राजधानी रहेको मोसुल सहरबाट मात्रै १२ किलोमिटर (सात माइल) को दुरीमा छ ।

६ महिना एक फुटबल एकेडेमीले यँहा कृतिम टर्फ बनायो, जसलाई इराकको एक गैरसरकारी क्रिस्चियन संस्थाले सहयोग गरेको थियो ।

‘यहाँ हामी युवा महिला खेलाडीहरुलाई फुटबलका सवै सामान्य जानकारी दिन्छौं । एक महिला टोली बनाउँन लागेको छु र भविष्यमा यो प्रतिस्पर्धामा उत्रने छ,’ प्रशिक्षक जोआने युसेप चाबाले भनिन् ।

२२ वर्षिय प्रशिक्षक चाबाले शारिरीक शिक्षामा स्नातक गरेकी छिन् ।

प्रशिक्षक चाबाले सिठी फुक्नुअघि यहाँका खेलाडी चम्किलो बिप्समा केही समय व्यायाम गर्छन् । त्यसपछि केही समय बल पासिङ प्रशिक्षण सक्छन् र प्रत्येकले एक÷एक बल लिन्छन अनि ४० यार्डको दुरीबाट पोस्टतर्फ कडा प्रहार गर्छन् ।

‘यहाँ हामी आफ्नो दुखद समय विर्सन्छौं,’ प्रशिक्षक चाबाले भनिन्, ‘हामीलाई खेलिरहेको देख्दा यहाँका अन्य मानिसमा केही आशा र हिम्मत जुटेको देख्न सकिन्छ । यहाँ हामी आफ्ना सवै दुखहरु बिर्सन्छौं ।’

चाबा यहाँ जेहादी समूह आइएसले कब्जा जमाउनुभन्दा दुई घण्टाअघि आफ्नो परिवारसँगै इराकको अर्को सहर अर्बिल गएकी थिइन् ।

यहाँ १० देखी १५ वर्ष उमेर समूहका ५० महिला खेलाडी हप्ताको दुई पटक दुई घण्टा प्रशिक्षण गर्छन् ।

सन् २०१४ मा जेहादीहरुबाट बाँच्न ६ वर्षको उमेरमा परिवारसँगै सहर छाडेकी मिरल जमाल अहिले १३ वर्षकी भइन् । उनमा फुटबलप्रती निकै लगाब छ ।

‘खेलाडीहरु यहाँ निकै सहज र रमाइलो महसुस गर्छन् । फुटबलले हामीलाई निक्कै राहत दिएको छ,’ जमालले भनिन्, ‘यहाँ गर्नका लागी अरु केही काम छैन । त्यसैले हामी फुटबल प्रशिक्षणमा केन्द्रित छौं ।’

फुटबल सिक्न आउनेका परिवारले पाँच देखि १० हजार इराकी दिनार (तीन देखि सात डलर) चर्चको स्वामित्वमा रहेको जग्गाको भाडा तिर्छन् । अन्य साधनहरुको प्रयोजनका लागी भने स्थानीय चार सञ्चालकले व्यक्तिगत सहयोग गर्छन् ।

एकेडेमी सञ्चालनमा सहयोग गरेका हाला थोमस हालै बग्दाद गइन् र सरकारसँग सहयोगको माग गरिन् । उनले सहयोग पाउने बाचा पाइन्, तर सहयोग भने पाइनन् ।

‘प्रशिक्षणका लागि आवश्यक बल, जर्सी तथा अन्य सामग्री किन्न हामीसँग पर्याप्त रकम छैन्,’ थोमसले भनिन्, ‘खेलकुद संस्थाहरुबाट सहयोग नभए पनि हामीमा एक राम्रो महिला टोली बनाउँन सक्छौ भन्ने आशा छ ।’

सन् २०१४ मा आइएसले विभिन्न सहरहरुमा कब्जा जमाएपछि इराकमा रहेका १५ लाख क्रिश्चियनहरु घटेर चार लाखमा आइपुगे । सबैले डरका कारण सहर छोडे । कोही आइएसको प्रभाव नभएको इराककै अन्य सहरमा सरे भने कोही देशबाटै विस्थापित भए ।

मोसुल र यस वरपरका अन्य प्रान्तका महिलाहरुमाथी आइएसले बर्बर र क्रुर व्यवहार गर्यो ।

आइएसको सोही क्रुरता बेहोरेको बार्टलाका मानिसहरु अझ विशेष रुपमा महिलाहरुका लागि फुटबलले सुखद भविष्यको सपना देखाएको छ । 
(अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीको समाचारबाट प्रेरित)