पाेखरा

भेट्रान्स फुटसल हुने

पोखरा । पोखराको प्रतिष्ठित संस्थाको रुपमा स्थापित बगर भाई खलकले आयोजना गर्ने ‘ भेट्रान्स अन्तर्राष्ट्रिय एट ए साइड फुटबल प्रतियोगिता’को पुरस्कार रकममा वृद्धी गरिएकाे छ ।

त्यस्तै बगर भाई खलकले भेट्रान्स फुटसल प्रतियोगिताको आयोजना गर्ने समेत घोषणा गरेको छ ।

११ वर्ष अघि  ४० वर्ष माथीको भेट्रान्स फुटबल प्रतियोगिता सुरु गरेको बगर भाई खलकले नेपालमा नै पहिलो पटक भेट्रान्स फुटसल प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको हो । 

सो बारे जानकारी दिंदै संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले ११ औं संस्करणको प्रतियोगिताका लागि पुरस्कार राशीमा वृद्धी गरिएको जानकारी दिए ।

प्रतियोगिताको प्रथम पुरस्कार उपाधी सहित १ लाख ५१ हजार १ सय ११ रुपैयाँ तथा दोस्रो हुने टिमलाई ७५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्ने संस्थाले निर्णय गरेको छ । 

‘हामीले पोखराको खेलकुदलाई नयाँ ढङ्गबाट परिचित गराउन खोजेका छौं, यो पुरस्कार राशीको वृद्धीले विदेशी टिमको आकर्षण बढ्ने छ.” उनले भने. ’यसका लागि प्रदेश सरकार, पोखरा महानगर, व्ययवसायिक प्रतिष्ठान लगायत सवैको सहयोग र सहकार्यको खाँचो छ ।'

पोखराको ऐतिहासिक टुँडीखेल मैदानको परिचय समेत स्वदेश र विदेशमा यस प्रतियोगिताले स्थापित गर्न सहयोग पुगेको बताउँदै प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य समेत रहेका गुरुङले मैदानको स्त्तरोन्नतीका लागि दुई पटक गरी २ लाख ५१ हजार रुपैयाँ सहयोग निर्माण उपभोक्ता समितीलाई प्रदान गरेको जानकारी दिए ।