उपमेयर कप राष्ट्रिय महिला फुटबल

कन्काइ र बागमतीको लगातार जित

काठमाडौं । कन्काइ र बागमती नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला छनोट प्रतियोगितामा शनिबार जित हासिल गरेका छन् ।

झापाको कन्काइ नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) मा ललितपुरको महालक्ष्मी नगरपालिकालाई १९-० को फराकिलो अन्तरमा हरायो ।

कन्काइको जितमा कुशुम खतिवडाले आठ तथा दिपा शाहीले पाँच गोल गरिन् । त्यस्तै सिम्रन राई र ममता राउतले समान दुई गोल गर्दा लक्ष्मी श्रेष्ठ र इमा राईले एक/एक गोल गरे ।

यसअघि कन्काइले ललितपुरको गोदावरी नगरपालिकालाई १२-० को नतिजामा हराएको थियो ।

यसैगरी सर्लाहीको बागमती नगरपालिकाले पनि लगातार दोस्रो जित हासिल गर्ने क्रममा ललितपरको गोदावरी नगरपालिकालाई ७-० को नतिजामा निराश पार्‍यो। 

शनिबार एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीका लागि राष्ट्रिय महिला टिमकी खेलाडी रश्मीकुमारी घिसिङले चार गोल गारिन् । गीता राना, अनु राई र सविता भ्लोनले एक/एक गोल गरे ।

जितसँगै दुई खेलबाट समूह ‘ए’ को बागमतीले ६ अंक जोडेको छ । भने सोही समूहको झापाको कन्काइ नगरपालिकाले पनि ६ अंक जोडेको छ । अब समूह विजेताको लागि बागमती र कन्काइले सोमबार प्रतिस्पर्धा गर्नेछन् ।

दुई खेल खेलेको ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिका अंकविहीन छन् ।

उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले पाँच लाख रुपैंया र उपविजेताले तीन लाख रुपैंया प्राप्त गर्नेछन् ।