जितका साथ प्रमूख प्रतियोगितामा नेदरल्यान्ड्सको पुनरागमन

एम्सटरडम, (खेलाडी)- सात वर्षपछि प्रमुख प्रतियोगितामा पुनरागमन गसेको नेदरल्यान्ड्सले युरोपियन च्याम्पियनसिप (युरो २०२०) मा सुखद सुरुआत गरेको छ । 

आइतबार मध्यरातमा भएको खेलमा नेदरल्यान्ड्सले समूह ‘सी’मा युक्रेनमाथि ३-२ को रोमाञ्चक जित हात पार्यो ।

घरेलु योहान क्रायफ एरिनामा ५२औै मिनेटमा जर्जिनो विज्नाल्डमको गोलसँगै नेदरल्यान्ड्सले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि वोट वेडहर्सले नेदरल्यान्ड्सको अग्रता दोब्बर पारेका थिए ।

२-० ले पछि परेको युक्रेनले खेलमा फर्किने प्रयास गरे पनि अन्तत हार जोगाउन सकेन । 

७५औं मिनेटमा आन्द्रिया यार्मोलेन्कोले युक्रेनलाई खेलमा फर्र्काउने संकेतस्वरुप एक गोल गरेका थिए । त्यसको ४ मिनेटपछि नै रोमन यारेमचुकले युक्रेनका लागि बराबरी गोल गरे । तर ८५ औं मिनेटमा डेजल डम्फायर्सले गोल गर्दै नेदरल्यान्ड्सको लागि ३ अंक पक्का गरेका थिए ।

युरो २०२० मा आइतबार राती नै भएका अन्य खेलमा समूह ‘सी’ मा अस्ट्रियाले नर्थ मेसेडोनियालाई ३-१ ले पराजित गरेको थियो भने समूह ‘डी’ को खेलमा इङ्ल्यान्डले क्रोएसियामाथि १-० को जित हासिल गरेको थियो ।