युरोपियन च्याम्पियनसिपमा अस्ट्रियाको पहिलो जित

बुदापेस्ट, (खेलाडी)- अस्ट्रियाले आइतबार राति युरोपियन च्याम्पियनसिपमा पहिलो जित दर्ता गराउने क्रममा नर्थ मेसेडोनियालाई ३-१ को नतिजामा निराश पारेको छ। 

बुधापेस्टको नेशनल एरिना बुखारेस्टमा फ्रांको फोडाको टोलीलाई प्रतियोगिताको इतिहासमै पहिलो जित दिलाउनका लागि बैकल्पिक खेलाडीहरु मिचेल ग्रेजोरिक्स र मार्को अर्नाटोभिकले पछिल्लो १२ मिनेटमा गोल गरेका थिए । समूह ‘सी’ मा तीन अंक हासिल गर्दै प्रतियोगिताको सुरुआत गर्दाको अस्ट्रियाको विपक्षी नर्थ मेसेडोनियाको भने यो युरोपियन च्याम्पियनसिपमा पहिलो खेल थियो । 

मार्सेल साबिट्जरको पासलाई स्टेफन लेइनरले गोलमा परिणत गरेपछि १८औं मिनेटमा अस्ट्रियाले अग्रता लिएको थियो । तर त्यसको १० मिनेटपछि गोरान पाण्डेभले बराबरी गोल गरेर नर्थ मेसेडोनियालाई खेलमा फर्काउने प्रयास गरे । 

पहिलो हाफ १-१ को बराबरीमा टुंगिएको खेलमा समय सकिन १२ मिनेट बाँकी रहँदा ग्रेजोरिक्सले डेविड अलाबाको पास उपयोग गर्दै गोल गरे भने ८९औं मिनेटमा अर्नाटोभिकले कोनराड लर्नरको पासमा गोल गर्दै टोलीको तीन अंक पक्का गरे । 

समूह ‘सी’अन्तर्गत अहिले केही बेरमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुनेछ । 

अस्ट्रियाले दोस्रो खेलमा बिहीबार एम्सटरडममा नेदरल्यान्ड्सको सामना गर्नेछ भने नर्थ मेसेडोनियाले बुखारेस्टमै युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ ।