फाइनल पुग्न चाहन्छौं : किरण चेम्जोङ

काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले शुक्रबार माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपमा सबै खेल महत्वपूर्ण हुने बताएका छन् । 

‘हाम्रा लागि सबै खेल महत्वपूर्ण हुनेछन् । उत्कृष्ट नतिजाको लागि मैदान उत्रनेछौं । युवा तथा अनुभवी खेलाडीबीच राम्रो तालमेल छ,’ कप्तान किरणले भने, ‘सबै खेल जित्दै फाइनल पुग्न चाहन्छौं । हामी गोर्खाली उपनामले चिनिन्छौं । पक्कै पनि माल्दिभ्सलाई घरेलु मैदान र समर्थकको साथ हुनेछ । तर त्यसले फरक पार्दैन ।’

त्यस्तै नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले राम्रो तयारी गरिरहेको बताएका छन् । 

‘हामीले राम्रो तयारी गरिरहेका छौं । हामी अहिलेसम्म फाइनलसम्म पुग्न नसकेको सबैलाई थाहा छ । हामी आफ्नो उत्कृट दिन चाहन्छौं,’ सहायक प्रशिक्षक श्रेष्ठले भने, ‘माल्दिभ्स साविक विजेता र घरेलु टोली भएकाले पहिलो खेल हामीलाई कठिन हुन्छ । माल्दिभ्स राम्रो टोली हो र उनीहरुसँग केही उच्च प्रदर्शन गर्ने खेलाडी समेत छन् । माल्दिभ्सलाई घरेलु दर्शक र मैदानको साथ छ । प्रतियोगिताको बलियो टोली भारत हो । उसले ७ पटक जितेको छ । माल्दिभ्सले दुई पटक जितेको छ ।’

नेपालले शुक्रबार दोस्रो खेलमा नेपाली समय अनुसार ९ः३० बजे माल्दिभ्स विरुद्ध खेल्दै प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्नेछ ।