एसेस टेस्ट शृंखला

ख्वाजाको शतकमा अस्ट्रेलियाको बलियो योगफल

सिड्नी । उस्मान ख्वाजाको शतकप्रेरित अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको एसेस टेस्ट शृंखलाको चौथो खेलको पहिलो इनिङमा बलियो योगफल तयार पारेको छ ।

बिहीबार दोस्रो दिनको खेल समाप्तीमा इङ्ल्यान्ड विना विकेट क्षती १३ रनमा खेलिरहेको छ । ओपनर हासिम हमिद र जेक क्रल समान दुई रनमा खेलिरहेका छन् ।

यसअघि १२६-३ बाट दोस्रो दिनको खेल सुरु गरेको अस्ट्रेलियाले थप दुई सय ९० रन जोड्दै ४१६-८ मा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । इङ्ल्यान्ड पहिलो इनिङमा अस्ट्रेलिया भन्दा अझै चार सय तीन रनले पछि छ । 

अस्ट्रेलियाका लागि ख्वाजाले एक सय ३७ रन जोडे । दुई सय ६० बलको सामना गरेका ख्वाजाले १३ चौका प्रहार गरे । त्यस्तै मिचेल स्टार्कले अविजित ३४ रन जोडे ।

इङ्ल्यान्डका स्टुवार्ट ब्रोडले पाँच विकेट लिँदा कप्तान जो रुट, मार्क उड र जेम्स एन्डरसनले समान एक विकेट लिए । 

सुरुआती तीन खेल जित्दै अस्ट्रेलियाले ३–० ले शृंखला आफ्नो पक्षमा पारिसकेको छ ।