काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले केही नयाँ नियम लागू गर्ने भएकाे छ ।
जसमा एकदिवसीय क्रिकेटमा बलको प्रयोगदेखि कन्कसन सब्स्टिट्युट नियमसम्म समावेश छन् ।
आइसिसीले एकदिवसीयमा हाल दुई नयाँ बलको प्रयोग हुने नियममा पनि परिवर्तन गर्न लागेको छ । नयाँ नियमअनुसार, पहिलो ३४ ओभरसम्म दुई बलको प्रयोग हुनेछ, तर ३५ देखि ५० ओभरसम्मको खेलका लागि भने फिल्डिङ टोलीले ती दुई बलमध्ये एउटालाई छान्न पाउनेछ । यदि खेल २५ ओभरभन्दा कममा सीमित भए, सुरुदेखि नै एउटा बल प्रयोग गरिनेछ ।
अब टोलीहरूले खेल सुरु हुनुअघि म्याच रेफ्रीलाई कन्कसन सब्स्टिट्युटका लागि पाँच खेलाडीको सूची बुझाउनुपर्नेछ । यो सूचीमा समान एक विकेटकिपर, ब्याटर, तीव्र गतिका बलर, स्पिनर र अलराउन्डर हुनेछन् ।
यदि कन्कसन सब्स्टिट्युटको रूपमा छानिएको खेलाडी पनि कन्कसनको शिकार भए म्याच रेफ्रीले सूचीबाहिरको खेलाडीलाई प्रतिस्थापनका लागि छान्न सक्नेछन् तर, त्यो खेलाडी उही भूमिको हुनुपर्नेछ । उदाहरणका लागि यदि स्पिनर कन्कशनका कारण बाहिरिए भने, उनको स्थानमा स्पिनर नै आउनुपर्नेछ ।
संशोधित नियम जुन १७ देखि श्रीलंका र बंगलादेशबीच हुने पहिलो टेस्ट खेलबाट लागू हुनेछ । यसैगरी एकदिवसीय र ट्वान्टी २० मा भने क्रमशः जुलाई २ र १० देखि सुरु हुने श्रीलंका बंगलादेशबीचको शृंखलाबाट नयाँ नियम लागू हुनेछ ।