काठमाडौं । लन्डन क्लब आर्सनलसँग पराजित भएसँगै साविक विजेता रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।
बुधबार राति सान्तियागो बर्नाबेउनमै रियाल २–१ ले पराजित भयो । पहिलो लेगमा आर्सनल घरेलु मैदानमा ३–० ले विजयी भएको थियो । समग्रमा आर्सनल ५–१ ले विजयी भएको हो ।
अब, आर्सनलले फाइनल प्रवेशको लागि पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग खेल्नेछ । आर्सनल सन् २००९ पछि सेमिफाइनलमा प्रवेश गरेको हो ।
बर्नाबेउमा बुकायो साकाले पहिलो हाफमा पेनाल्टी चुकाउँदा कुनै गोल हुन सकेन । दोस्रो हाफमा तीन गोल निस्कियो । साकाले नै ६५औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए ।
भिनिसियस जुनियरले ६७औं मिनेटमा घरेलु टोलीलाई बराबरीमा ल्याएका हुन् । तर, इन्जुरी समयमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई जित दिलाएका हुन् ।
यससँगै रियालको १६ पटक उपाधि जित्ने योजनामा धक्का लागेको छ । रियालले यसअघि सर्वाधिक १५ पटक उपाधि उचालिकसको छ । रियालले अब यसै साता बार्सिलोनासँग कोपा डेल रेको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, ला लिगामा पनि उपाधिमा बार्सिलोना भन्दा पछाडि छ ।