काठमाडौं । वेस्ट इन्डिजले आइसिसी महिला ट्वान्टी-२० विश्वकपमा बिहीबार बंगलादेशविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।
लगातार दोस्रो जितसँगै तीन खेलमा चार अंक जोडेको वेस्ट इन्डिज समूह ‘बी’ को शीर्ष स्थानमा छ । पराजित बंगलादेश समान खेलबाट दुई अंकका साथ चौथो स्थानमा छ ।
सारजहा क्रिकेट मैदानमा बंगलादेशले प्रस्तुत गरेको १०४ रनको लक्ष्य वेस्ट इन्डिजले १२.५ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्यो ।
वेस्ट इन्डिजका लागि हेली म्याथ्युजले ३४, स्टेफन टेलरले २७ शेमेन क्याम्पबेलले २१ र डियान्द्रा डोटिनले अविजित १९ रन बनाए ।
बंगलादेशका लागि नहिदा अख्तर र मरुफा अख्तरले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०३ रनको योगफल तयार पारेको थियो ।
बंगलादेशका लागि कप्तान निगर सुल्तानले ३९, दिलरा अख्तरले १९, शोभना मोस्तारीले १६ र ऋतु मोनीले १० रन बनाए ।
वेस्ट इन्डिजका लागि करिष्मा रामहरकले चार तथा अफी फ्लेचरले दुई र हेली म्याथ्युजले एक विकेट लिए ।