क्यानका उपाध्यक्ष र सचिवलाई राजीनामा फिर्ता लिन अध्यक्षको अनुरोध

काठमाडौं, (खेलाडी)- नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले राजीनामा घोषणा गरेका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्‍याललाई राजीनामा फिर्ता लिन अनुरोध गर्ने बताएका छन् । 

उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुर्‍यालले काठमाडौंमा पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गरिरहँदा अध्यक्ष चन्दले खेलाडीसँगको कुराकानीमा टिमलाई पुनः एकजुट बनाउन प्रयास गर्ने बताए । 

उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुर्‍यालले नेतृत्वसँग असहमतिका कारण राजीनामाको घोषणा गरेको संकेत गरिरहँदा चन्दले भने आफूलाई त्यस्तो कुनै जानकारी नभएको बताए ।

‘मैले पनि भर्खरै मिडियाबाटै थाहा पाएँ । आजै बिहान पनि सचिवजीसँग लामो कुरा भएको थियो । उहाँले हामीले चुनाव जितेपछिका दुई वर्षको गतिविधि बारे बताउन मिडिया बोलाएको छु भन्नुभएको थियो,’ चन्दले भने, ‘बिहान लामो कुरा भएको चाँही हो । तर त्यस्तो केही थाहा भएन । मसँग असन्तुष्टि हुनुपर्ने कुनै कारण देखिदैन ।’

क्यान अध्यक्ष चन्दले श्रेष्ठलाई उपाध्यक्ष तथा प्याकुर्‍याललाई सचिवको रुपमा सबै अधिकार र सम्मान दिएको कारण आफूसँग असन्तुष्ट हुनुपर्ने कारण नरहेको जिकिर गरे । 


‘मैले त उहाँहरुलाई सचिव र उपाध्यक्षको सम्मान र अधिकार दिएकै छु । काम गर्नुस भनेकै छु । एसिसीको डेभलपमेन्ट कमिटीमा पनि म जान्न भनेर अशोक सरलाई छोडेकै हो । खाता सञ्चालन मैले गरेको छैन । पैसा खर्च म गर्दैन तपाई नै गर्नुस भनेको हो । आइसिसीसँग सम्पर्क र अफिस सञ्चालन उहाँकै जिम्मा हो । हामीबीच कुनै असन्तुष्टि भएजस्तो लाग्दैन । उहाँहरुले स्टेप डाउन गरेको भनेपछि स्टेप अप गर्न फेरी भन्छु म ।’

काग्रेस निर्वाचनका लागि लामो समयदेखि गृहनगर बैतडीमा रहेका क्यान अध्यक्ष चन्दले आफूले कुनै कुरा नबिराएको भन्दै थपे, ‘म त अहिले होम टाउनमा छु । मेरो हिसावले मैले कुनै कुरा विराएजस्तो लाग्दैन । म त्यस्तो मान्छे नै होइन । अब घटनाक्रम कसरी अगाडि बढ्छ भन्ने हो । त्यहीअनुसार साथीहरुसँग सल्लाह गरेर अगाडि बड्छु ।’