काठमाडौं । फुटबलमा डिभिजन लिगको महत्व नै बेग्लै हुन्छ । यो एक पटक खेलेर सकिने नकआउट प्रतियोगिताभन्दा फरक हुन्छ । खेलाडी विकासको महत्त्वपूर्ण आधार हो, डिभिजन लिग । युवा खेलाडीका लागि त यो आफ्नो सीप निखार्ने मुख्य थलो हो ।
डिभिजन लिग युवा जोसका लागि नियमित प्रतिस्पर्धात्मक खेल खेल्दै अनुभव बटुल्ने मञ्च हो । त्यस्तो मञ्च जसले उनीहरूका लागि उच्च स्तरको फुटबलमा पुग्ने बाटो बनाइदिने काम गर्छ । आसन्न सहिद स्मारक महिला लिगलाई त्यही मञ्चका रूपमा हेर्न पाउने आस गरिएको छ ।
नेपाली महिला फुटबलमा तीन विभागीय टोलीको वर्चस्व छ । एपिएफ एफसीले आफूलाई निर्विवाद च्याम्पियनका रूपमा प्रस्तुत गर्दै आएको छ । यसपालि भने एपिएफलाई निर्विवाद दाबेदार भनेर भन्न सकिने अवस्था छैन ।
भर्खरै उदयपुरमा एन्फा महिला च्याम्पियनसिप सम्पन्न भएको थियो । उपाधि जित्ने टोली एपिएफ नै थियो । तर, फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबले एपिएफलाई बलियो चुनौती पेस गरेको थियो । लिगमा आर्मीबाट त्यस किसिमकै प्रदर्शनको अपेक्षा रहनेछ । सायद आर्मी त्योभन्दा पनि बलियो भएर आउने विश्वास गर्न सकिन्छ ।

पुलिसले पनि चार महिनाअघि एपिएफको त्यो ‘विनिङ रन’लाई ब्रेक गरेको थियो । झापा गोल्डकप फाइनलमा एपिएफ नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । त्यसैले पनि यो लिगमा एपिएफलाई निर्विवाद दाबेदार मान्न नसकिएको हो ।
यद्यपि उदयपुरमा महिला फुटबलको पुरानो समस्या ‘प्रतिस्पर्धात्मक नहुने’ मुद्दाले अझ बढी चर्चा पायो । उदाउँदै गरेका नयाँ टोली पनि विभागीय टिमलाई टक्कर दिन तयार देखिन्छन् । भलै, एपिएफले आरएस पोखराविरुद्ध १९ गोल गरेको होस् !, नयाँ टोलीलाई उसले कमजोर आँक्ने छुट हुने छैन । नयाँ टोली अर्थात् संकटा एफसी, एनआरटी र चर्च ब्वाइज युनाइटेड ।
पछिल्लो समय यी तीन टोलीले प्रतिभावान खेलाडीमा लगानी गरिरहेका छन् । उमेर समूहका सम्भावना बोकेका खेलाडीहरू यी टोलीमा जोडिएका छन् । जसले केही हदसम्म लिगलाई प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गर्न सकिन्छ ।
यसरी प्रतिस्पर्धात्मक पक्षलाई जोड दिइरहँदा मैदान बाहिरी पक्षले भने सम्भावना भएका टोलीलाई पछाडि धकेलिरहेको देखिन्छ । लिग सुरु हुन अब मात्र ४ दिनको समय बाँकी छ । यो समय भनेको अन्तिम चरणको तयारी गर्ने बेला हो । तर, केही क्लबहरू अझै खेलाडी तयार गरिरहेका छन् ।

तीन विभागीय टोली, संकटा र एनआरटीबाहेक बाँकीले अन्तिम प्रशिक्षण सुरु गरेका छैनन् । आरएस पोखरा स्थानीय प्रतियोगिता खेलिरहेको छ । बाँकी टोलीमा बागमती युवा क्लब, चर्च ब्वाइज, झापा एफसी र राप्ती एफसीका खेलाडीले एउटै टिममा बसेर प्रशिक्षण सुरु गरेका छैनन् । खेलाडीका अनुसार उनीहरू क्लबले बोलाउला र जाउँला भनेर कुरिरहेका छन् । यस्तोमा लिगको ‘चार्म’लाई लिएर प्रश्न उब्जिएको छ ।
गत सिजन लिगको दोस्रो चरण (सुपर स्टेज)मा पाँच टोलीले उपाधिका लागि दाबेदारी प्रस्तुत गरेको थियो । त्यतिबेला वालिङ नगरपालिका र बागमती युवा क्लबमाथि व्यावसायिकताको प्रश्न उठाइएको थियो । कारण, यी दुईले तेस्रो खेलसम्म आइपुग्दा टिममा १८ खेलाडीमात्र समावेश गर्न सकेको थियो । आर्थिक अभावका कारण यी दुई औपचारिकताका लागि मात्र खेलिरहेको देखिन्थ्यो । तथापि बागमतीले बलियो चुनौती प्रस्तुत गरेको थियो । एउटा खेलमा त बागमतीले पुलिसलाई बराबरीमा रोकेको थियो ।
यसपालि वालिङले आर्थिक कारण नै लिगबाट आफ्नो नाम फिर्ता लिएको छ । वालिङको सट्टा राप्तीले लिग खेल्दै छ । बागमती पनि अन्तिम टोली तयार पार्न संघर्ष गरिरहेको छ ।
‘हामी खेलाडी खोज्दै छौं । अघिल्लो सिजन खेलेका खेलाडी कोही विदेश गए । कोही विभागले तानेर लगे । आर्थिक रूपमा पनि हामी संघर्ष गरिरहेका छौं अनि राम्रा खेलाडी पाउन गाह्रो भइरहेको छ,’ गत सिजन बागमतीको टचलाइन सम्हालेका प्रशिक्षक सुनिल श्रेष्ठले भने ।

बागमतीले त्यतिबेला आफ्नो प्रदर्शनबाट सबैको मन जितेको थियो । टोलीकी कप्तान, पूर्व राष्ट्रिय यु–१९ सदस्य दिव्या स्माइली मगर विदेश गइसकेकी छन् । अञ्जली चन्द, सेमिहाङ्मा लिम्बू, सहारा लिम्बूलगायत प्रमुख खेलाडी अहिले छैनन् । अञ्जली संकटाको जर्सीमा देखिँदै छिन् । सहारालाई लिगलगत्तै नेपाल पुलिस क्लबले अनुबन्ध गरेको थियो ।
‘महिला फुटबल विभागीय टिमले नै धानिरहेको छ । सबै खेलाडीको सपना पनि विभागमा गएर सेटल हुने नै हुन्छ । हामीलाई यी खेलाडी गएकोमा कुनै गुनासो छैन । यो त खेलाडी र देशकै लागि पनि राम्रो कुरा हो,’ श्रेष्ठले भने ।
भदौमा सम्पन्न छनोट प्रतियोगिताबाट पाँच टोली लिगका लागि छानिए । त्यसमा राप्ती पनि थपिएको छ । छनोट प्रतियोगिताका लागि विभागीय टोलीले आफ्ना वैकल्पिक खेलाडीलाई रिलिज गरेर केही टोलीमा पठाएका थिए । अहिले यी खेलाडीले छनोट प्रतियोगितामा प्रतिनिधित्व गरेकै टोलीबाट लिग खेल्नुपर्ने नियम एन्फाले लागू गरेको छ । यस्तोमा यो नियमले लिगलाई केही हदसम्म प्रतिस्पर्धात्मक बनाउने अनुमान गरिएको छ ।

रोशनी बोहरा क्षेत्री, मञ्जली योञ्जन, झरना डुम्राकोटी, लीला जोशीलगायतले विभागीय टोलीबाट छनोट प्रतियोगिता खेलेका थिए । यदि उनीहरूले लिगमा पनि त्यही टोलीको प्रतिनिधित्व गर्ने हो भने यसले पक्कै पनि खेलमा असर पार्ने देखिन्छ ।
नियमित प्रतिस्पर्धात्मक खेल खेल्दै आफ्नो सीप निखार्ने मञ्चका रूपमा लिइने लिगबाट पछिल्लो सिजन सहारा, सेमिहाङ्मा, बिर्सना चौधरी, मनमाया दमाई, प्रतीक्षा चौधरी जस्ता खेलाडीको उदय भएको थियो । त्यो लिगपछि मनमाया र प्रतीक्षाले अन्तर्राष्ट्रिय क्याप जिते । नेपाल पुलिसबाट खेलेकी बिर्सनाले माथिल्लो उमेर समूहमा नेपाललाई नेतृत्व गरिन् । उनकै टोलीमा थिइन् सेमिहाङ्मा । तल्लो उमेर समूहकी उप–कप्तान सहारालाई दुईपटक त सिनियर टोलीको क्लोज क्याम्पमै बोलाइएको थियो ।
यसपालि पनि नयाँ खेलाडीहरूको उदय हुने नै छ । क्लबहरूको आर्थिक पाटो बीचमा नआउने हो भने मात्र ।