एभिसी सेन्ट्रल जोन

एभिसी विजेता नेपाली महिला टोली बिहीबार स्वदेश आइपुग्ने

काठमाडौं । एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको च्याम्पियन नेपाली राष्ट्रिय महिला भलिबल टोली बिहीबार बिहान ११ बजे नेपाल आइपुग्ने छ ।

बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर दोस्रो पटक उपाधि घर ल्याएको हो ।

प्रतियोगितामा आफ्नो पहिलो खेल श्रीलंका र फाइनलमा उज्वेकिस्तानसँग दुई–दुई सेट बाँडे बाहेक नेपाली टोलीले आयोजक बंगलादेश, माल्दिभ्स र किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताको साविक विजेता नेपालले यसअघि सन् २०१९ मा बंगलादेशमै सम्पन्न प्रतिायोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर पहिलो पटक भलिबलमा सबैभन्दा ठुलो उपाधि हात पारेको थियो ।

यस्तै प्रतियोगिताको पुरुषतर्फ नेपाली टोली समूह चरणमा उज्वेकिस्तान र माल्दिभ्सलाई हराए पनि श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो ।

पुरुषतर्फ तेस्रो स्थानको लागि खेलमा भने नेपाल उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो ।