काठमाडौं, (खेलाडी)- नेपाल तेक्वान्दो संघ अन्तर्गतको पारा कमिटिले आफ्नो मतहातमा रहेका राष्ट्रिय खेलाडीहरुलाई नगद सहित खाद्यान्न सहयोग गरेको छ ।
कोेभिड १९ दोस्रो लहरका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको मारमा परेका पारा खेलाडीहरुलाई कमिटिले सहयोग गरेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । खेलाडीहरु दिपेश महत, रामबहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, रञ्जना धामी र श्रृजना घिसिङ्गलाई २ बोरा चामल, १ बक्सा खाने तेल, नुन, ५ केजी दाल र नगद पाँच हजार रुपैयाँ घर घरमै पुगेर सहयोग स्वरुप प्रदान गरिएको थियो ।
खेलाडीहरुलाई खाद्यान्न पारा कमिटिका सदस्य रोशित उन्निथानबाट उपलब्ध गराइएको थियो भने पारा कमिटिका सदस्य रामचन्द्र श्रेष्ठ, हेमन्त भट्टराई र राजन उप्रेतीले नगद ४० हजार रुपैयाँ सहयोगको लागि उपलब्ध गराएका थिए ।
उक्त सहयोग पारा कमिटिका सचिव एवम ओलम्पियन दिपक विष्ट, पारा प्रशिक्षक कविराज नेगी लामा र १३औं सागमा दोहोरो स्वर्ण पदक जितेका कराँते स्टार मण्डेकाजी श्रेष्ठले खेलाडीहरुको घरघरमै पुगेर हस्तान्तरण गरेका थिए ।