विध्यालय खेलकुद

अक्सब्रिज बास्केटबलमा जेभियर र टाइम्सलाई उपाधि

काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले मंगलबार प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् ।

जेभियरले स्नातक तथा टाइम्सले १२ कक्षासम्मको उपाधिमा कब्जा जमाएका हुन् ।

स्नातकतर्फको फाइनलमा जेभियरले आयोजक अक्सब्रिजलाई १८-१२ को स्कोरमा पराजित गर्दा निकेश मगरले सर्वाधिक १० स्कोर गरे ।

मंगलबारै यसअघि भएको सेमिफाइनलमा जेभियरले सेन्ट जेभियर्सलाई १८-७ तथा अक्सब्रिजले गोल्डेनगेटलाई १९-१२ को नतिजामा हराउँदै फाइनलमा स्थान पक्का गरेका थिए ।

१२ कक्षासम्म तर्फको उपाधि भिडन्तमा पेम्बा शेर्पाको सात स्कोर प्रेरित टाइम्सले रुकिजलाई १७-१४ को नतिजामा हरायो ।

त्यसअघि सेमिफाइनलमा टाइम्सले आयोजक अक्सब्रिजलाई १७-१२ तथा रुकिजले नवोदितलाई २१-१५ को नतिजामा हराएका थिए ।

स्नातकतर्फ जेभियरका निकेश मगर तथा १२ कक्षासम्मको प्रतिस्पर्धामा टाइम्सका छिरिङ थिन्ले लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्याब्सनका सह–अध्यक्ष डिके ढुंगाना, अक्सब्रिजका प्रधानाध्यापक डा. कृष्णप्रसाद पाण्डेलगायतले पुरस्कृत गरे ।