काठमाडौं । विराटनगर ब्यान्डिट्सले केबी साम नेपाल कबड्डी लिग(एनकेएल)मा लगातार दोस्रो जित हासिल गरेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)मा सम्पन्न दिनको पहिलो खेलमा विराटनगरले काठमाडौं म्याभरिक्समाथि एक अंकको जित हासिल गर्यो ।
जितसँगै विराटनगर दुई खेलमा स्पष्ट १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा विराटनगरले धनगढी वाइल्डक्याट्सलाई हराएको थियो ।
पहिलो हाफको समाप्तिमा विराटनगर सात अंकले अगाडि रह्यो । विराटनगरले २६ अंक जोड्दा काठमाडौंले मात्र १९ अंक बनायो । दुई अल आउटका साथ विराटनगरले १७ अंकको फराकिलो अग्रता कायम गरेको थियो । तर, काठमाडौंका लागि कप्तान घनश्याम रोका मगरले लगातार दोस्रो खेलमा सान्दार प्रदर्शन गरे । घनश्यामको दुई सुपर रेडसहित काठमाडौंले अन्तरलाई सात अंकमा घटाएको हो । यसबीच विराटनगर पनि अल आउटको शिकार बन्यो ।
दोस्रो हाफमा पुनरागमन गरेको काठमाडौं अन्तिम एक मिनेटमा चुक्न पुग्यो । अन्तिम ५४ सेकेन्ड्स बाँकी छँदा स्कोर ४१-४१ को बराबरीमा आइपुगेको थियो । तर, विराटनगरका लागि थाइल्यान्डका खेलाडी रोयनग्रम चतुरोनफैसनले एकै रेडमा तीन अंक हासिल गरेपछि खेल पल्टिएको हो ।
विराटनगरले रेड र ट्याकलमा २८, बोनसमा ११, अल आउटमा चार र सुपर ट्याकलमा एक अंक हासिल गर्यो । काठमाडौंले रेड र ट्याकलमा ३०, बोनसमा ९ र अलआउटमा चार अंक हासिल गर्यो ।