काठमाडौं । नेपालले भारतमा जारी खो-खो विश्वकपको महिला तथा पुरुष दुवैतर्फ सेमिफाइनलमा स्थान बनाएको छ ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा शुक्रबार महिलातर्फको क्वार्टरफाइनलमा नेपालले इरानविरुद्ध १०३-८ अंकको सहज जित दर्ता गर्यो ।
नेपालले अब फाइनल प्रवेशका लागि युगान्डासँग प्रतिस्पर्धा गर्नेछ । युगान्डाले शुक्रबारै न्युजिल्यान्डलाई ७१-२६ अंकले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।
नेपाल समूह ‘सी’को विजेताका रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूह चरणमा भुटान, जर्मनी, श्रीलंका र बंगलादेशलाई हराएको थियो ।
यता पुरुषको क्वार्टरफाइनलमा नेपालले बंगलादेशविरुद्ध ६७-१८ अंकको जित दर्ता गर्यो ।
अब नेपालले फाइनल प्रवेशका लागि इरानको सामना गर्नेछ । इरानले केन्याविरुद्ध ८६-१८ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो ।
नेपालले समूह ‘ए’ को उपविजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको थियो । समूह चरणमा भारतसँग पराजित नेपालले पेरु, ब्राजिल र भुटानलाई हराएको थियो ।