काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला हक्की प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
ललितपुरको च्यासल फुटबल मैदानमा शनिबार आर्मीले बागमती प्रदेशलाई ८-० ले हरायो । आर्मीको जितमा कमला चन्द, निलिमा पाण्डे र दमारा भट्टले समान दुई तथा सुनिता नेगी र सीतामाया बलले समान एक गोल गरे ।
चार टोली सहभागी महिलातर्फत लिगको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । हालसम्म आर्मीसँगै गण्डकी प्रदेशले पनि दुई जित निकालेको छ । दुई खेलबाट आर्मी र गण्डकीको समान ६ अंक छ ।
आइतबार गण्डकी र आर्मीबीच हुने खेलले उपाधि विजेताको टुंगो लगाउने छ । लिगमा समान दुई खेल खेलेका बागमती र मधेशले भने अंक जोड्न सकेका छैनन् ।
राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । च्यासलमा नै भएको समूह ‘बी’ को खेलमा पुलिसले एपिएफलाई ३-१ ले हरायो । पुलिसका नवराज खत्रीले ह्याट्रिक गरे ।
जितसँगै चार टोली रहेको समूहबाट पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको छ । समान दुई खेलबाट अपराजित पुलिसको ६ अंक र कर्णालीको तीन अंक छ । समान दुई खेलबाट एपिएफ र बागमतीको समान एक अंक छ । यो समूहमा कर्णालीसँगै एपिएफ र बागमती तीनै टोलीको शीर्ष दुई भित्र रहेर सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।
पुरुषको अर्को खेलमा कोशी र गण्डकीले ३-३ को बराबरी खेले । कोसीका लक्ष्मण समारिया, योगेशकुमार बारघरे र आर्यान चौधरीले समान एक गोल गरे । गण्डकीका लागि भने दीपक तामाङले दुई तथा संगम घर्ति मगरले एक गोल गरे ।
दुवै टोली जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्थे । तर, यो खेलको नतिजा बराबरी भएपछि आर्मीले सेमिफाइनलकाे यात्रा तय गर्याे ।
समान दुई खेलबाट आर्मी ६ अंकसहित शीर्ष स्थानमा छ । समान दुई खेलबाट कोशीको चार र गण्डकीको एक अंक छ भने मधेश अंकविहीन छ । अब कोशी र गण्डकीमध्ये एक टोली सेमिफाइनलमा पुग्ने छन् ।