ब्राजिलको सतप्रतिसत यात्रामा नेइमार नायक

रियो दी जेनेरियो, (खेलाडी)- नेइमारको उत्कृष्‍ट प्रदर्शनमा ब्राजिल दक्षिण अमेरिकी विश्‍वकप छनोट प्रतियोगितामा सतप्रतिशत नतिजा यात्रालाई निरन्तरता दिन सफल भएको छ । 

कतार विश्‍वकप २०२२ को छनोटअन्तर्गत आज विहान सम्पन्‍न खेलमा ब्राजिलले पाराग्वेलाई २-० ले पराजित गर्‍यो । 

एक गोल आफैले गरेका नेइमारले अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए । ग्याब्रियल जिससको पासमा नेइमारले चौथो मिनेटमै ब्राजिललाई अग्रता दिएका थिए । नेइमारको पासमा लुकास पाक्‍वेटाले अन्तिम मिनेटमा गोल गर्दै ब्राजिलको जित पक्का गरे । 

छनोट प्रतियोगितामा लगातार जितपछि ६ खेलबाट १८ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा छ । पाराग्वे सात अंकका साथ छैटौं स्थानमा छ । कोलम्बियासँग बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो स्थानमा छ । 

आजै तेस्रो स्थानको इक्‍वेडर पुछारको पेरूसँग स्तब्ध भएको छ । क्रिष्‍टियन कुएभा र लुइस एड्भिनकुला गोलमा पेरुले इक्‍वेडरलाई २-१ ले हराएको हो । पेरुका कुएभाले ६३ तथा एड्भिनकुलाले ८९औं मिनेटमा गोल गरेका थिए । इक्‍वेडरका गोन्जालो प्लाटाले अन्तिम मिनेटमा गोल गरे । 

हारपछि इक्‍वेडरले दोस्रो स्थानको अर्जेन्टिनासँग अंक बराबरी गर्ने मौका गुमायो । इक्वेडर ९ अंकका साथ तेस्रो स्थानमा छ । पेरु चार अंकका साथ अन्तिम स्थानमा छ । 

इक्‍वेडर पराजित हुँदा लुइस स्वारेजको उरुग्वेले तेस्रो स्थानमा उक्लने मौका गुमायो । उरुग्वे भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको थियो ।  

दुई पटकको विश्‍वकप विजेता उरुग्वेले अधिकांस समय बल नियन्त्रणमा राखे पनि गोल गर्न भने असफल रह्‍यो । उरुग्वे आठ अंकका साथ चौथो स्थानमा छ । भेनेजुएला चार अंकका साथ नवौं स्थानमा छ । 

दुई पटकको कोपा अमेरिका विजेता चिलीले बोलिभियासँग १-१ को बराबरी खेल्यो । चिलीले इरिक पुल्गारको गोलबाट ६९औं मिनेटमा अग्रता लिएको थियो । ८२औं मिनेटमा बोलिभियाका मार्सेलो मोरेनोले पेनाल्टीमा बराबरी गोल फर्काए । ६ खेलबाट ६ अंक जोडेको चिली सातौं स्थानमा छ । समान खेलबाट पाँच अंक जोडेको बोलिभिया आठौं स्थानमा छ ।