मेसीले गोल गरे पनि अर्जेन्टिना चिलीसँग बराबरीमा रोकियो

ब्युनस आयर्स, (खेलाडी)- कतार विश्‍वकप २०२२ को लागि दक्षिण अमेरिकी छनोटमा शुक्रबार अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले चिलीसँग १-१ बराबरीमा चित्त बुझाएको छ । 

२८ र्औ मिनेटमा कप्तान लियोनल मेसीको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो । मेसीले पेनाल्टीको सदुपयोग गर्दै अर्जेन्टिनालाई खेलमा अघि बढाएका थिए । तर अर्जेन्टिनाले आफ्नो अग्रता धेरै समय भने टिकाउन सकेन । त्यसको ८ मिनेटपछि नै एलेक्सिस सान्चेजले चिलीलाई खेलम फर्काएका थिए ।

५ खेलमा ११ अंक जोडेको अर्जेन्टिना छनोटको दोस्रो स्थानमा छ । ब्राजिल १२ अंकका साथ शीर्ष स्थानमा छ । इक्‍वेडर ९ अंकका साथ तेस्रो स्थानमा छ भने पाराग्वे र उरुग्वे समान ७ अंकका साथ चौथो र पाँचौ स्थानमा छन् । चिली ५ अंकका साथ छैटौ स्थानमा छ ।

त्यस्तै आज विहानै भएको अर्को खेलमा कोलम्बियाले पेरुलाई ३-० ले हराएको छ । कोलम्बियाको जितमा एरी मिनाले ४०, म्याटियस उरिबेले ४९ र लुइस डियाजले ५५औं मिनेटमा गोल गरे । ४५औं मिनेटमा मिगुएल ट्राउकोले दोस्रो पहेलो कार्डको सामना गरेपछि पेरु दश खेलाडीमा सिमित भएको थियो । ड्यानिएल मुनोले ५९औं मिनेटमा रातो कार्डको सामना गरेपछि कोलम्बियाले पनि १० खेलाडीमा सिमित भएर मैदान छोड्यो ।

शुक्रबारै भनेन्जुएलाले बोलियभियालाई ३-१ का नतिजा सुम्पियो भने पाराग्वे र उरुग्वेले गोलरहित बराबरीमा चित्त बुझाए ।