राजनीतिलाई काम गर्न दिउँ, म बाहिरिएँ : अल्मुताइरी

काठमाडौं (खेलाडी)- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जिम्मेवारीबाट हटेको बताएका छन् ।

बुधबार साझ फेसबुकमा व्यंगात्मक स्ट्याटस पोस्ट गर्दै राजनीति हावी भएकाले आफूले पद छोड्न लागेको बताएका हुन् ।

उनले ‘आइ एम आउट, लेट पोलिटिक्स वर्क’ (म बाहिर भएँ, राजनीतिलाई काम गर्न दिउँ) भन्दै फेसबुकमा पोस्ट गरेका हुन् ।

यसअघि प्रशिक्षक अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद समाधानका लागि राष्ट्रिय खेलक्द परिषद्(राखेप)ले गठन गरेको छानबिन समितीले सदस्य सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको एक घण्टापछि नै अल्मुताइरीले पदबाट अलग हुने संकेत गरेका हुन् । 

छानबिन समितीले अल्म्ताइरीलाई राजीनामा सम्बन्धी पुरानो पोस्ट फेसबुकबाट हटाउन, व्यक्तिगत आचरण सुधार गर्दैै प्रशिक्षणमा मात्र केन्द्रित हुन, एन्फा पदाधिकारीका बारेमा अनावश्यक टिका टिप्पणी नगर्न निर्देशन सहितको प्रतिवेदन बुझाएको थियो ।

गत महिना अल्मुताइरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्नो काममा लगातार बाधा पुर्‍याएको भन्दै फेसबुकबाटै समर्थकलाई सम्बोधन गरेर राजीनामा दिन लागेको बताएका थिए । 

अल्मु्ताइरी र नेम्वाङ दुवैले छानबिनको माग गर्दै एन्फामा निवेदन दिएका थिए । एन्फाले छानविका लागि युवा तथा खेलकुद मन्त्रालयलाई पत्र पठाए पनि मन्त्रालयले राखेपलाई एक साता भित्र छानबिन गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।