काठमाडौं । एन्फा राष्ट्रिय लिगमा सोमबार लालिगुँरास एसोसिएसन क्लब र न्युरोड टिम (एनआरटी) आ-आफ्ना खेलमा विजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा लालिगुँरासले नव जनजागृति क्लबमाथि ४-१ को सानदार जित हासिल गर्यो । लालिगुँरासको जितमा आशिष गुरुङले दुई तथा अब्दुल युसुफ र अकोएटे जुनियरले एक-एक गोल गरे । नव जनजागृतिका लागि उमेश सञ्जेलले गरेको गोल सान्त्वना बन्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा एनआरटीले सातदोबाटो युवा क्लबलाई ३-१ ले हरायो । एनआरटीका लागि फरवार्ड विज्ञान खड्काले दुई गोल गरे । त्यस्तै एक गोल टिमोथे एकिरिकेको नाममा रह्यो । दुई गोलले पछाडि परेको अवस्थामा फोडे फोफानाले एक गोल फर्काएका थिए ।
दिनको तेस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । खेल दशरथ रंगशालामा साँझ ६ः३० बजे हुनेछ ।
