काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिड र शीर्ष स्थानको बार्सिलोनाको दूरी एक अंकमा झरेको छ ।
शनिबार राति भएको खेलमा रियालले घरेलु मैदानमै लेभान्तेलाई २–० ले हराउँदै बार्सिलोनासँगको दूरी घटाएको हो । यद्यपि, बार्सिलोनाले एक खेल कम खेलेको छ ।
जाभी अलोन्सोले क्लब छाडे लगत्तै रियालले तीन अंक जोडेको छ । टोलीको जितमा केलियन एम्बाप्पे र राउल एसेन्सियोले गोल गरे । दुबै गोल दोस्रो हाफमा भएको थियो । खेलको ५८औं मिनेटमा एम्बाप्पेले पेनाल्टी मार्फत गोल गरेका थिए । सात मिनेटपछि नै एसेन्सियोले दोस्रो गोल गर्दै सहज तीन अंक जोडेका थिए ।
तालिकामा १९ खेल खेलेको बार्सिलोना ४९ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियालको २० खेलबाट ४८ अंक रह्यो । पराजित लेभान्ते रेलिगेशन क्षेत्रमा छ । उसले १९ खेलमा मात्र १४ अंक जोडेको छ । यो हारले यसको रेलिगेशन डर झनै बढेको छ ।
