काठमाडौं । अज्वा चौधरीको साफ महिला फुटसल च्याम्पियनसिपमा पाकिस्तानले श्रीलंकाविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।
बिहीबार बैंककस्थित हुवा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न दिनको तेस्रो खेलमा श्रीलंकाले पाकिस्तानसँग ३–२ को हार बेहोर्यो । दुई पटक पछाडि परेको अवस्थामा खेलमा फर्किएको श्रीलंका निर्धारित समयको अन्तिम मिनेटमा सम्हालिन सकेन ।
श्रीलंकाका लागि थर्मिका सिभानेस्वरन र कप्तान दिलाशा वाडुवागेले गोल गरेका थिए । जितसँगै पाकिस्तानले आफ्नो अपराजित यात्रालाई कायम राख्यो । अघिल्लो खेलमा पाकिस्तान भुटानसँग १-१ को बराबरीमा रोकिएको थियो । आफ्नो पहिलो खेलमा श्रीलंकाले पनि नेपालसँग २-२ को बराबरी खेलेको थियो ।

दिनको पहिलो खेलमा बंगलादेशले भारतको चुनौती ३-१ ले पन्छायो । त्यस्तै नेपालले माल्दिभ्सविरुद्ध ५-० को जित हासिल गर्यो ।
पाकिस्तानले आफ्नो तेस्रो खेलमा शनिबार माल्दिभ्सको सामना गर्नेछ । श्रीलंकाको तेस्रो खेल सोमबार बंगलादेशसँग छ । त्यसअघि बंगलादेशले आफ्नो दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
