काठमाडौं । अन्तर्राष्ट्रिय फुटसलमा नेपाली राष्ट्रिय महिला टोलीले ऐतिहासिक पहिलो जित हासिल गरेको छ ।
बैंककमा जारी साफ फुटसल च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्सविरुद्ध ५-० को जित हासिल गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्यो ।

हुवा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन जेनिफर रानामगरले दुई तथा विमला चौधरी र मनिषा थापामगरले एक गोल गरे । एक गोल नेपालले आत्मघाती उपहारका रुपमा प्राप्त गर्यो ।
पहिलो हाफमा चार गोलको अग्रता लिएको नेपालले त्यसपछि एक गोल थपेको हो । निर्धारित समय सकिनै लाग्दा फतिमाथ सैनाले आत्मघाती गोल गर्न पुगिन् ।

जितसँगै नेपाल दुई खेलमा चार अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि नेपालले श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो । माल्दिभ्सले यसअघि भारतसँग ११-१ को फराकिलो हार बेहोरेको थियो ।
