काठमाडौं । सिलोङमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत इरानविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले गोलपोस्टमा अञ्जिला तुम्बापो सुब्बालाई मौका दिँदा लेफ्ट ब्याक हिराकुमारी भुजेलले पुनरागमन जानएकी छन् ।
गत वर्ष काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको पहिलो खेलमा हिराले एसियल (एन्टेरियर क्रुसिएट लिगामेन्ट, घुँडामा लाग्ने एकप्रकारको गम्भीर चोट) सामना गरेकी थिइन् । जसका कारण उनी पछिल्लो ११ महिनायता मैदान बाहिर थिइन् । साफ च्याम्पियनसिपपछि पहिलो पटक राष्ट्रिय टोलीमा पुनरागमन जनाएकी हिराले पहिलो खेलमै पहिलो रोजाईमा आफ्नो स्थान बनाएकी हुन् । त्यस्तै गत जुलाईमा उज्वेकिस्तानमा भएको एएफसी एसियन कप छनोटका तीनवटै खेलमा बेन्चमा सीमित भएकी अञ्जिलाले पनि गोलपोस्टको जिम्मेवारीमा पुनरागमन जनाएकी हुन् ।
५–४–१ को रक्षात्मक शैलीमा उत्रिरहेको नेपालका लागि हिरासँगै निशा थोकर, पुजा राना, समीक्षा घिमिरे र बिमला बिक ‘डिफेन्सिभ लाइन’मा रहनेछन् । सेन्ट्रल मिडफिल्डमा रेनुका नगरकोटे र प्रीति राई छन् । त्यस्तै रेखा पौडेल र सवीता रानामगरले दायाँ र बायाँ साइडबाट टोलीको आक्रमण बुन्नेछन् । अग्रपङक्तिमा सावित्रा भण्डारी छिन् ।
पहिलो खेलमा भारतमाथि २-० को जित हासिल गरेको इरानले आज नेपाललाई हराए प्रतियोगिताको उपाधि जित्नेछ ।
जवहारलाल नेहरु रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ६ः१५ बजे हुनेछ ।
