एन्फा कार्यसमिति बैठक

एन्फा पूर्णकालीन बैठक भोली बिहान सम्मका लागि स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक भोली बिहान नौ बजे पुनः बस्ने गरि  स्थगित भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा निर्धारित समयभन्दा ढिलो गरि सुरु भएको बैठकका लागि तय २० एजेन्डामध्ये ६ एजेन्डामा छलफल गरि बाँकी १४ एजेन्डामा भोली पुनः छलफल हुने गरि बैठक स्थगित भएको एन्फा कार्यसमितकिा एक सदस्यले जनाए ।

आज सबै एजेन्डाहरुमा छलफल नसकिएकाले भोली बिहान बस्ने गरि बैठक स्थगित भएको उनले जानकारी गराए ।

बैठकले अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा वार्षिक रुपमा गर्दै आएको खेलाडी सम्मानको छनोटका लागि पाँच सदस्यीय छनोट समिती गठन गर्नुका साथै ए, बी र सी डिभजन लिग खेल्ने क्लबलाई तयारी स्वरुप दिइदै आएको रकममा दुई लाख ५० हजार थप गर्ने निर्णय समेत गरेको छ ।

बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित सात सदस्यले  पुस एकमा कार्यकारी समितिको बैठक माग गरेपछि आज बैठक बसेको हो ।