काठमाडौं । नेपालले बुधबार घरेलु टोली ताजकिस्तानसँग खेल्दै एएफसी यु-२३ एसियन कप छनोट प्रतियोगिताको सुरुआत गर्दैछ । राजधानी डुसान्बेस्थित पामीर रंगशालामा हुने समूह ‘के’को यो खेल नेपाली समयअनुसार राती ९ः४५ बजे हुनेछ ।
ताजकिस्तानको युवा टोलीसँग दुईपटक एसियन कप खेलेको अनुभव छ । यो अनुभव ताजकिस्तानले पछिल्ला दुई संस्करणमा बटुलेको हो । त्यसअघि भने टोली कहिल्यै छनोट हुन सकेको थिएन । उता नेपालले भने एसियन कपको अनुभव अहिलेसम्म लिन पाएको छैन ।
फिफा वरीयताका हिसाबमा ताजकिस्तान नेपालभन्दा ७० स्थान माथि छ । त्यसमाथि ताजकिस्तानलाई घरेलु समर्थकको साथ रहनेछ । निश्चित छ, घरेलु टोलीको चुनौती नेपालले त्यति सहज हुने छैन । यो चुनौतीका लागि नेपाली टोली कत्तिको तयार छ ?
‘हामीसँग यस समूहमा रहेका बलिया टोलीविरुद्ध फाइट गर्न सक्ने खेलाडी छन् । खेलाडीमाथि मैले ठूलो आशा राखेको छु,’ न्यौपानेले भने, ‘खेलमा को बलियो, को कमजोर भन्ने हुँदैन । भर्खरै मात्र फिफा वरीयतामा तल रहेको भारतले सिनियर फुटबलमा ताजकिस्तानलाई हराएको थियो । यो नै हाम्रो लागि मोटिभेसन हो ।’
न्यौपानेले उमेर समूहमा खेलिसकेका, घरेलु ‘सी’ र ‘बी’ डिभिजन लिगबाट सम्भावना भएका र नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजनमा राम्रो प्रर्दशन गरेका खेलाडीलाई प्रारम्भिक छनोट चरणमा बोलाएका थिए । पछि सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीलाई जोड्दै न्यौपानेले अन्तिम २३ सदस्यीय टोली तयार पारेका थिए ।

अट्याकिङ मिडफिल्डर तथा कप्तान आयुष घलान र लेफ्ट ब्याक सुमित श्रेष्ठको अन्तर्राष्ट्रिय अनुभव रहेको न्यौपानको टोलीमा सिनियर टोलीबाट खेलिसकेका थप दुई खेलाडी छन् । अर्का अट्याकिङ मिडफिल्डर कृतिशरत्न छुन्जु र स्ट्राइकर निराजन धामी टोलीका प्रमुख खेलाडी हुन् । त्यस्तै भुटानको शीर्ष डिभिजन लिगमा खेलिरहेका मिडफिल्डर सन्तोष खत्री प्रतियोगितामा नेपालका लागि हेर्नलायक खेलाडीमध्ये एक हुन् ।
करिब दुई महिना प्रशिक्षणमा बिताएको टोलीले प्रतियोगिताको तयारीस्वरुप सिनियर राष्ट्रिय टिमसँग तीन अभ्यास खेल खेलेको थियो । बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा रहेको सिनियर टोलीसँग अभ्यास खेल खेल्दा खेलाडीका कमि कमजोरी औंल्याउन सहज भएको न्यौपानेले बताए ।
‘हामीले प्रतियोगिताको तयारीस्वरुप अन्य राष्ट्रसँग मैत्रीपूर्ण खेल त खेल्न पाएनौं । तर, सिनियर टोलीसँगको खेलले हामीलाई निकै फाइदा भयो । हामीसँग इनर्जेटिक खेलाडी छन् । अट्याकिङ फुटबल नै पस्किन्छौं,’ न्यौपाने दाबी गर्छन्, ‘दुई महिनामा मैले सबै पक्षमा काम गर्न पाएँ । सिनियर टोलीसँग प्रस्तुत गरेको खेल ताजकिस्तानमा पस्कियौं भने हामीले सकारात्मक नतिजा ल्याउन सक्छौं ।’
नेपाल र ताजकिस्तानको खेलअघि समूह ‘के’को उद्घाटन खेलमा सिरिया र फिलिपिन्सले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ ।
सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा हुने एसियन कपको सातौं संस्करणमा स्थान बनाउने छ । त्यस्तै कूल ११ समूहबाट चार उत्कृष्ट उपविजेता टोलीले पनि साउदी अरेबियाको टिकट काट्नेछ ।