काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सोमबार झापा एफसीसँग ३-१ को हार बेहोरेपछि नयाँबस्ती युवा क्लबमाथि रेलिगेसनको खतरा बढेको छ ।
जितसँगै झापा ११ खेलमा १५ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । पराजित नयाँबस्ती समान खेलबाट आठ अंकका साथ पुछारमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा झापालाई जित दिलाउन राजेश दाहालले दुई तथा बबिन बोहराले एक गोल गरे । नयाँबस्तीका लागि सुमन योङया ले गोल फर्काए ।
खेलको पाँचौं मिनेटमा बबिनको गोलमार्फत झापाले अग्रता लिएको थियो । ३९औं मिनेटमा राजेशले टोलीको अग्रता दोब्बर बनाए ।
समुनले ६८औं मिनेटमा गोल गर्दै नयाँबस्तीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा राजेशले व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई ३-१ को जित दिलाए ।
सोमबारै सम्पन्न पहिलो खेलमा अन्नपूर्ण क्लब (आरसिटी) ले ब्रिगेड ब्वाइज क्लबविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको थियो ।