काठमाडौं । नेपाल सुपर लिग (एनएलएल) को फ्रेन्चाइज ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुगेका छन् । उनी सोमबार साँझ नेपाल आइपुगेको क्लबले जानकारी दियो ।
साइमनले लामो समय लेस्टर सिटी, ब्ल्याकपुल,एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायीक फुटबल खेलेका थिए। उन्ले सन् १९९६ को इङ्लिस लिग कप जितेका थिए। प्रशिक्षकको रुपमा ग्रेसनले लिड्स युनाइटेडलाई इंग्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनसिपमा छनोट गराउनका साथै लिड्स,हर्डसफिल्ड र प्रेस्टन नर्थलाई च्याम्पियनसिपमा उकालेका थिए ।
ग्रेसनले भारतको इन्डियन सुपर लिग (आइएसएल) टोली बेङ्गलुरु एफसीको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा टोलीले डुरान्ड कप जितेको थियो भने इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो ।
नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीसँग आबद्ध हुन पाउँदा उनि अत्यन्तै उत्साहित भएको र अहिलेसम्म प्राप्त गरेको अनुभवले ललितपुर सिटी एफसी तथा समग्र नेपाली फुटबलमा महत्वपूर्ण योगदान पुर्याउन चाहेको ग्रेसनले बताएका छन् ।
त्यस्तै ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग खेल्नका लागि प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्टिलाना र हाइटीका फरवार्ड केर्भेन्स बेलफोर्ट पनि नेपाल आइपुगेका छन् ।
प्यालेस्टाइनको राष्ट्रिय टोलीबाट खेल्दै आएका कान्टिलानाले एसिया र मध्य पूर्वका शीर्ष लिगहरूको अनुभव बटुलेकाले क्लबको मिडफिल्ड शक्तिलाई उल्लेखनीय रूपमा बढाउने क्लबले अपेक्षा राखेको छ ।
यस्तै सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका बेलफोर्टले १४ गोल गरेका छन् ।
बेलफोर्टले अघिल्लो सिजन बंगलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए। दबाबको स्थितिमा पनि ट्याकलर गर्न सक्ने क्षमताले उनी ललितपुर सिटी एफसीका लागि महत्वपूर्ण खेलाडी हुनेछन् । ललितपुर सिटी एफसीको मार्की प्लेयरमा अनन्त तामाङ छन् ।