सहिद स्मारक ‘ए’ डिभिजन लिग

सातदोबाटोसँग सर्तक भएर खेल्छौः आर्मी प्रशिक्षक न्यौपाने

काठमाडौं । त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारबाट सुरु हने पाँचौ चरणको पहिलो खेलमा सातदोबाटो युथ क्लबको सामना गर्दा आफूहरु सतर्क भएर खेल्ने बताएका छन् ।

चार खेलमा दुई जित र दुई बराबरीको नतिजापछि आर्मी आठ अंकसहित तेस्रो स्थानमा छ भने समान खेलमा दुई जित, एक हार र एक बराबरीको नतिजा ल्याएको सातदोबाटो सात अंक जोड्दै पाँचौ स्थानमा छ ।

‘सातदोबाटो उत्कृष्ट टोली हो ,उनीहरुले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्’, न्यौपानेले भने, ‘सातदोबाटो रक्षापत्ति, मिडफिल्ड र अग्रपत्ति गरि तीन वटै पक्षमा अब्बल देखिएको छ । हामी उनीहरुविरुद्ध तीन अंकका लागि खेल्छौ । शीर्ष दुईमा रहेमा मच्छिन्द्र र मनाङलाई दबाब बढाउन पनि हामीलाई प्रत्येक खेलमा तीन अंक आवश्यक छ ।'

सातदोबाटोका साहायक प्रशिक्षक सुरज महर्जनले पनि आर्मी बलियो टोली भएपनि जितकै लागि खेल्ने बताए ।

‘हामी एक होइन तीन अंककै लागि खेल्नेछौ,’ महर्जनले भने, ‘हामीले पहिलो तीन खेलमा राम्रो प्रदर्शन गरेपनि चौथो खेलमा एनआरटीविरुद्ध केही गल्ती गर्दा निराश हुन पर्यो । तर एक साताको अन्तरमा टोलीले आफ्नो कमिकमजोरी सुधार गरिसकेको छ ।त्यसैले टोली जित लयमा फर्कनेमा आशाबादी छु ।’

त्रिपेरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो एक बजे हुनेछ ।