सहिद स्मारक ‘ए’ डिभिजन लिग

एपिएफ निरिह

काठमाडौं । मार्टिन्स अजाइको ह्याट्रिकप्रेरित नवप्रवेशी सातदोबाटो युथ क्लब शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली एपिएफमाथी सहज जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोले एपिएफलाई ४–१ ले पराजित गर्यो ।

जितसँगै सातदोबाटो तीन खेलबाट सात अंक जोडेको छ । पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा थ्री स्टारको चुनौतीलाई १–० ले पाखा लगाएको थियो ।

एपिएफको भने यो लगातार तेस्रो हार हो । एपिएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२ ले र दोस्रो खेलमा च्यासलसँग १–० ले पराजित भएको थियो ।

हालसम्म खाता खोल्न नसकेको एपिएफ तालिकाको पुछारमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हाफको ४२औं मिनेटमा मार्टिन्स अजाइले गरेको गोलबाट सातदोबाटोले अग्रता लिएको थियो । सुदिप गुरुङले गरेको प्रहार डिफ्लेक्ट हुदैँ पुगेको बललाई मार्टिन्सले पोस्टको दिशा दिएका थिए ।

त्यस्तै पहिलो हाफको इन्जुरी समयमा पासाङ लामाको पासमा मार्टिन्सले नै हेडमार्फत गोल गर्दै सातदोबाटोको अग्रतालाई दोब्बर पारे ।

४९औं मिनेटमा एपिएफका विक्की तामाङले गोल गर्दै टोलीलाई खेलमा फर्काउन खोजे पनि त्यसको एक मिनेटपछि नै सुशिल राईले गोल गर्दै सातदोबाटोको अग्रतालाई ३–१ को अवस्थामा पुर्याए ।

५८औं मिनेटमा मार्टिन्सले ह्याट्रिक पूरा गरेसँगै सातदोबाटोले सहज जित निश्चित गर्यो ।