सहिद स्मारक ए डिभिजन लिग

मछिन्द्र र त्रिभुवन आर्मी गोलरहित बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सोमबार साविक विजेता मछिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब गोलरहित बराबरीमा रोकिएका छन् ।

बराबरसँगै मछिन्द्रले दुई खेलबाट चार अंक जोडेको छ । मछिन्द्रले पहिलो खेलमा न्युरोड टिम (एनआरटी) लाई २–१ ले पराजित गरेको थियो ।

आर्मीको भने यो लगातार दोस्रो बराबर हो । आर्मीले पहिलो खेलमा विभागीय ‘डर्बी’ अन्तर्गत नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेलेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हाफमा दुबै टोलीले गोलको केही मौका पाए पनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए ।

मछिन्द्रका कप्तान सुजल श्रेष्ठले चौथो मिनेटमा गरेको प्रहार फितलो रह्यो ।

त्यस्तै २६औं मिनेटमा नोर्लान नोर्भुजोभको प्रहार सन्तोष तामाङले गोललाईनबाट क्लियर गरेपछि मछिन्द्र पहिलो हाफमा अग्रता लिन चुकेको थियो ।