नर्थ मेसेडोनियामाथि युक्रेनको जित

बुदापेस्ट, (खेलाडी)- आन्द्रेई यामोलेन्कोले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि युक्रेनले बिहीबार युरोपियन च्याम्पियनसिप (युरो २०२०) अन्तर्गतको खेलमा नर्थ मेसेडोनियामाथि २-१ को जित हासिल गरेको छ ।

एलेक्जेन्डर काराभेभको पासलाई गोलमा परिणत गर्दै २९औं मिनेटमा युक्रेनको खाता खोलेका उनले मध्यान्तर हुन ११ मिनेट बाँकी रहँदा अर्को गोलका लागि पास मिलाएका थिए । उनकै पासमा रोमन यारेम्चुकले ३४औं मिनेटमा युक्रेनको अग्रता दोब्बर पारेका थिए । 

नर्थ मेसेडोनियाका लागि इज्गेइन एलोस्कीले ५७औं मिनेटमा एक गोल फर्काए पनि त्यो अंक हासिल गर्न पर्याप्त भएन । 

खेलमा दुवै टोलीले पेनाल्टीको एक/एक अवसर पाए पनि उपयोग गर्न सकेनन् । ५७औं मिनेटमा गोल गर्नुभन्दा केही क्षणअघिमात्र एलोस्कीले प्रहार गरेको पेनाल्टी युक्रेनका गोलकिपर जर्ज बुस्कानले रोकेका थिए । 

यसैगरी समय सकिन ६ मिनेट बाँकी रहँदा युक्रेनका रुस्लान मालिनोभस्कीले प्रहार गरेको पेनाल्टी पनि सफल भएन । मालिनोभस्कीको प्रहार नर्थ मेसेडोनियाका गोलकिपर स्टोल दिमित्रिभस्कीले बचाएका थिए । 

जितपछि युक्रेन समूह ‘सी’ मा तीन अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नर्थ मेसेडोनियाले भने अंकको खाता खोल्न सकेको छैन । समान तीन अंकका साथ समूहको शीर्ष दुई स्थानमा रहेका नेदरल्यान्ड्स र अस्ट्रियाले आजै मध्यरातमा पौने एक बजे एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन् । 

समूहको पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ तथा नर्थ मेसेडोनिया अस्ट्रियासँग ३-१ काे नतिजामा पराजित भएका थिए ।

समूहको अन्तिम खेल जुन २१ मा नर्थ मेसेडोनिया र नेदरल्यान्ड्स तथा युक्रेन र अस्ट्रियाबीच हुनेछ ।