धनगढी । न्यु होराइजन बुटवलले अर्जुन ट्रफीमा विजयी सुरुवात गरेको छ । न्यु होराइजले मंगलबारको पहिलो खेलमा दशरथ चन्द क्रिकेट एकेडेमी बैतडीलाई ५१ रनले पराजित गर्यो ।
धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा न्यु होराइजनले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १०६ रनमै समेटियो ।
दशरथका लागि बसन्त खत्रीले २०, हिमाल दुलियाले, १९, सुमित बडालले १४ र दिवान पुनले १२ रन बनाए ।
न्यु होराइजनका लागि तुलबहादुर थापाले तीन, विपर्सन केसी र वीर मगरले समान दुई तथा महेश बहर, सिद्धान्त शाही र निर्मल गुरुङले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको थियो ।
न्यु होराइजनका लागि दिपक डुम्रेले सर्वाधिक ४५, आरिफ खानले ४१, कप्तान दिलिप नाथ र प्रतिक श्रेष्ठले समान २० तथा गोविन्द विकले १९ रन बनाए ।
दशरथका लागि कप्तान भुवन कार्कीले दुई तथा खडक बोहोरा, सलाउदिन खान र रुपेश सिंहले समान एक विकेट लिए ।