धनगढी । फ्रेन्ड्स युथ क्लब,डडेलधुराले अर्जुन ट्रफीमा लगातार दोस्रो जित दर्ता गरेको छ । धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार फ्रेन्ड्सले बोस्टन क्रिकेट झापालाई ७७ रनले पराजित गर्यो ।
जितसँगै फ्रेन्ड्स दुई खेलमा चार अंक जोडेको छ । यसअघि फ्रेन्ड्सले डिसिए धनगढीलाई हराएको थियो । बोस्टनले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
फ्रेन्ड्सले दिएको १४४ रनको लक्ष्य पछ्याएको बोस्टनले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ६६ रन मात्रै बनाउन सक्यो । खराब मौसमका कारण खेललाई १५ ओभर घटाइएको थियो ।
बोस्टनका लागि सनम बुढाथोकीले १७ र दिपु भुजेलले १५ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
फ्रेन्ड्सका लागि कुशल भुर्तेलले तीन ओभरमा एक मेडनसहित १२ रन खर्चिएर सर्वाधिक चार विकेट लिए । यसैगरी अजय चौहानले दुई तथा आवाज गौतम र सन्दीप जोराको नाममा समान एक विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको फ्रेन्ड्सले १५ ओभरमा तीन विकेट गुमाउँदै १४३ रनको योगफल तयार पारेको थियो ।
फ्रेन्ड्सका लागि ओपनर आयुषमान बमले ३६ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले ३० बलमा चार चौका र चार छक्काको मद्दत ५१ रन, किरण ठगुन्ना २१ रन बनाए ।
बोस्टनका लागि अर्जुन ऐरीले दुई र पवन कार्कीले एक विकेट लिए ।