- दिपेश तिमल्सिना
काठमाडौं । शीर्ष डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेसँगै तेस्रो स्थान हासिल गरेपछि न्युरोड टिम (एनआरटी)ले अर्काे सिजनका लागि योजना बनायो । तेस्रो स्थानपछि एनआरटीले लिग जित्ने खाका तयार पार्यो । तर, लक्ष्य कसरी प्राप्त गर्ने ?
क्लब नेतृत्वको फुटबल प्रतिबद्धताले उपाय निकाल्यो, एनआरटीले लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीलाई जम्मा पार्ने र प्रि-सिजनका गतिविधि बाक्लो तथा स्तरीय बनाउने । लिग सकिएको र मोफसलमा पनि कुनै प्रतियोगिता नभएको समय थियो । खेलाडी अनुबन्ध गर्न क्लबका लागि यो उपयुक्त मौका बन्यो ।
|
यही मौकामा अर्को एउटा संयोग जुर्यो, विदेशमा प्रतियोगिता खेल्ने अवसरले एनआरटीलाई घचघच्यायो । नेपाली फुटबलमा आर्थिक हिसाबले समृद्ध एनआरटी मलेसियामा हुने टिवाइटी कप खेल्न राजी भयो ।
यसपछि एनआरटीले क्लबविहीन खेलाडीलाई क्लबमा भित्र्याउने र विदेश यात्रामा लैजाने निर्णय गर्यो । तिनै खेलाडीले आगामी लिगमा क्लबलाई साथ दिने प्रतिवद्धता पनि जाहेर गरे ।
गत सिजनको टोलीबाटै विक्रम धिमाल, कृतिशरत्न छुन्जु र पूजन होडासँगै विदेशी खेलाडी मेसोकु ओलोउमोउ, स्टेफन समिर र आन्द्रे थेरी वियिक वियिकले निरन्तरता पाए । यस्तै, कप्तान रन्जित धिमाल, विशाल राई, छिरिङ गुरुङ, गौरव श्रेष्ठ, रुमेश बर्ताैला, संजोक राई र विदेशी खेलाडी निकोलस फर्नान्डेजलाई क्लबले अनुबन्ध गर्यो ।
लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका कुरिरहेको एनआरटीसामु सहभागिताको अवसर र त्यसका लागि सक्षम टिम दुवै तयार भए । मलेसियाका नागरिक राजा इशा बंगलादेशी लिगको मुक्तिजोध्दा संसद केसी फुटबल क्लबमा प्रशिक्षक छन् । तर, मुक्तिजोध्दाले मलेसियामा हुने टिवाइटी कप खेल्न नपाउने भयो । कारण, बंगलादेशको लिग जारी थियो । लिग ब्रेक भए पनि समय जुध्दा बंगाली टोलीको मलेसिया भ्रमण सम्भव भएन ।
मुक्तिजोध्दाका प्रशिक्षक राजा इशाले दक्षिण एसियाली क्षेत्रकै एक क्लबलाई मलेसिया लैजाने निर्णय लिए । जसमा उनले एनआरटीसँग समन्वय गरे । त्यसपछि एनआरटी टिम मलेसिया पुग्यो ।
|
मलेसिया जाने भएपछि एनआरटीले पनि नजिक रहेको थाइल्यान्ड पुग्ने निर्णय गर्यो । त्यहाँ पनि लिग सकिएको थियो । व्यावसायिक टोलीहरू प्रि-सिजनको तयारीमा थिए । स्थानीय एजेन्टको सहयोगमा एनआरटीले मैत्रीपूर्ण खेलको प्रस्ताव गर्यो । जुन स्वीकार पनि भयो ।
मलेसियामा एनआरटीले तीन टोलीसम्मिलित टिवाइटी कप खेल्यो । तीनमध्ये पेनाङ एफसी मलेसियाको शीर्ष डिभिजन टोली थियो । अर्काे इन्डोनेसियाको दोस्रो डिभिजनको कारो युनाइटेड ।
जुन २७ मा मलेसिया पुगेको एनआरटीले भोलिपल्टै कारो र पेनाङको खेल हेर्यो । प्रतिद्वन्द्वी बलियो रहेको थाहा पायो । दुईबीचको खेल १-१ मा समाप्त भयो । जुन खेलमा सन् २०१६ को फिफा पुस्कास अवार्ड जितेका मलेसियन खेलाडी फैज सुब्रीले घरेलु टोलीका लागि बराबरी गोल गरेका थिए ।
अब, दोस्रो खेलमा एनआरटीको प्रतिद्वन्द्वी कारो थियो । नतिजा कारोको पक्षमा ५-१ ले गयो । एनआरटीका लागि मेसोकु ओलोउमोउले ७७ औं मिनेटमा एक गोल फर्काएका थिए । जुन समय एनआरटी ४ गोलले पछि परिसकेको थियो । भर्खरै तेस्रो श्रेणीबाट दोस्रोमा बढुवा भएको कारो विगत तीन महिनासम्म तयारीमै थियो । एक प्रकारले टिम ‘सेट’ थियो । इन्डोनेसियाको दोस्रो डिभिजन क्लबको ‘सिस्टम’, टिम स्पिरिट र अनुशासन देख्दा लाग्थ्यो, ‘कुवेतमा नेपालले इन्डोनेसियाविरुद्ध बेहोरेको ७-० को हार आश्चर्यजनक’ थिएन ।
पहिलो खेलपछि सुधारिएको प्रदर्शन गरेको एनआरटीले पेनाङविरुद्ध पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदासम्म धैर्य कायम राख्यो । पेनाङको पोस्टमा केही डरलाग्दा ‘मुभ’ पनि बनायो । नेपाली समर्थकको बाक्लो उपस्थितिका बीच ४३औं मिनेटमा पहिलो गोल बेहोर्यो । समग्रमा ५-० ले पराजित भयो । खतरनाक देखिएका ब्राजिलका लुकास डी सिल्भाले चार गोल गरे । मध्य सिजनमा क्लब भित्रिएका ब्राजिलियन स्ट्राइकरले क्लबबाट अझै आधिकारिक खेल खेल्न भ्याइसकेका थिएनन् ।
|
दक्षिण एसियाली खेलकुदको घेराभित्रै सीमित नेपाली फुटबलको क्लबलाई एसियाकै उत्कृष्ट लिगको टिमसँग खेल्ने अवसर पाउनु ठूलो कुरा थियो । नतिजा जे जस्तो होस्, एनआरटीले त्यहाँ केही सिक्ने अवसर पायो ।
त्यसपछि मलेसियाबाट बिदा भएर एनआरटी थाइल्यान्ड पुग्यो । थाइल्यान्डमा प्रि-सिजन चलिरहेको थियो । मैत्रीपूर्ण खेलका लागि त्यहाँका क्लबसमेत तयार भए ।
थाइल्यान्डको क्लब एसियाली फुटबलकै उत्कृष्टमा पर्ने गर्छन् । व्यावसायिक फुटबल सिको गर्नेले थाइल्यान्डलाई पछ्याउँदा पनि फरक पर्दैन । जहाँ शारीरिक खेल खेल्नुभन्दा पनि मानसिक खेल खेल्न प्रोत्साहन गरिन्छ । तेस्रो श्रेणीका क्लबहरू समेत एएफसीको मापदण्डमा बाधिँदै क्लब सञ्चालन गर्छन् । हरेकको आ-आफ्नै घरेलु मैदान छन् । यस्ता क्लबहरूसँग नेपाली टोलीले खेल्न पाउनु नै पनि ठूलो उपलब्धि थियो ।
थाइल्यान्ड पुगेपछि एनआरटीले पहिलो खेलमा कसिम बुन्डित युनिभर्सिटी एफसीसँग खेल्यो । नतिजा ५-१ ले गुमायो । दोस्रो खेलमा शीर्ष डिभिजनको चोनबुरी एफसीसँग खेल्यो । यसअघि नै नेपाली राष्ट्रिय फुटबल टोलीले चोनबुरीसँग खेलेकाले एनआरटीले पनि सहजै चोनबुरी प्रतिद्वन्द्वी पाएको थियो ।
कुरा के त भन्दा, नेपालले यसअघि चोनबुरीको खास टिमसँग मैत्रीपूर्ण खेल खेलेको रहेनछ । नेपालविरुद्ध खेल्दा मुख्य खेलाडीलाई विश्राम दिइएको रहेछ । तर, नेपाल ३-१ अन्तरले पराजित भएको थियो । जुन समय मध्यसिजन चलिरहेको हुँदा खेलाडीलाई चोटको सम्भावनाबाट बचाउन मैदान नउतारिएको रहेछ ।
|
तर, एनआरटीविरुद्ध चोनबुरीको प्रि-सिजन तयारी हुँदा उत्कृष्ट ११ लाई नै मौका दिइएको थियो । प्राविधिक र शारीरिक तथा मानसिक रूपमा बलियो चोनबुरीविरुद्ध एनआरटी ९-०ले पराजित भयो । जुन यस भ्रमणकै सबैभन्दा ठूलो हार थियो ।
हालै अनुबन्ध भएका ब्राजिलियन स्ट्राइकर ड्यानी अल्भेसले एनआरटीविरुद्ध चार गोल गरेका थिए । उनी साताको १० हजार डलर (अमेरिकी) मा चोनबुरीमा आबद्ध छन् ।
थाइल्यान्ड भ्रमणमा एनआरटीले अन्तिम खेल थोनबुरी युनाइटेडसँग खेल्यो । पहिलो जित निकाल्ने क्रममा एनआरटी २-१ ले विजयी भयो । थोनबुरी थाइल्यान्डको तेस्रो श्रेणीको क्लब हो । यस खेलमा मेसोकु ओलोउमोउ र दीपेश घलेले एक-एक गोल गरेका थिए । दीपेशको गोल पेनाल्टीमा सम्भव भएको हो ।
समग्रमा ५ खेल खेलेको एनआरटीले २५ गोल बेहोर्दै ४ गोल गरेको थियो । चार खेल हार्दा एक खेल जित्यो । एनआरटीले यस प्रदर्शनलाई ज्ञानका रूपमा लिएको छ ।
नतिजाको निराशाजनक पाटो एकातिर रह्यो । तर यो भ्रमणबाट एनआरटी र समग्र नेपाली फुटबललाई नै धेरै फाइदा भएको छ । क्लबले अन्तर्राष्ट्रिय अनुभव बटुलेको छ । सम्बन्ध बनाएको छ । क्लब एकेडेमी कसरी अगाडि बढाउनुपर्छ, त्यो राम्ररी बुझ्दै कार्यान्वयन गर्नतिर ध्यान दिएको छ । यस्तै, त्यहाँका क्लबलाई नेपालमा झिकाएर प्रतियोगिता गराउने योजना पनि बनाएको छ ।
थाइल्यान्डमा रहँदा एनआरटी टिम सामुत प्रकान्त एफसीको होटलमा बसेको थियो । जुन क्लब ‘ए’ श्रेणीबाट ‘बी’ मा घटुवा भएको थियो । यही क्लबको होटलमा नेपाली टिमले अनुभव साट्न पाएको थियो । क्लबको पूर्वाधारदेखि लिएर अत्यावश्यक उपकरणका विषयमा जानकारी राख्न पायो । जुन विश्वस्तरीय होटलमा प्रि-सिजनमा जापानका क्लबहरूले तयारी गर्ने र बस्ने गर्छन् ।
नेपाली फुटबलका कुरा गर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाली क्लबले पनि व्यावसायिक क्लब सञ्चालन गर्ने हो भने भौतिक पूर्वाधार र लामो लिगविना सम्भव छैन ।
अब, नेपाली फुटबलको सर्वोच्च निकायले पनि लिग खेल्ने क्लबहरूले नियमितझै ‘फुटबल खेल्न सक्दिनँ, फुटबल खर्चिलो, धान्न सकिएन’ जस्ता गनगन गरिरहने हो भने तिनलाई फुटबलको मूलधारबाट सहज बर्हिगमनको बाटो देखाउन सक्नुपर्छ । क्लबलाई लगानी गर्न बाध्य पार्न सक्नुपर्छ । लगानीका लागि क्लबले निजी क्षेत्रलाई आकर्षित गर्ने क्षमता विस्तारमा सहयोग गर्न सकिन्छ । तर निजी क्षेत्रसँगको सहकार्यमा फुटबलमा लगानी गर्न सकिन्न भने त्यस्ता क्लबबाट राष्ट्रिय फुटबल विकासको अभियानमा कुनै योगदान रहन्न भन्नेमा प्रस्ट भइहाल्नुपर्छ । थाइल्यान्डमा तल्लो श्रेणीको क्लबले पनि क्लब लाइसेन्सको प्रक्रिया पूरा गर्नुपर्छ । जसका लागि संघले नै केही मापदण्ड तयार गरिदिएको हुन्छ ।
|
तेस्रो श्रेणीको क्लबका लागि समेत खेलाडीसँग लामो सम्झौता र घरेलु मैदान अनिवार्य गरिएको छ । एन्फाले पनि तल्लो स्तरबाटै क्लबहरूका लागि यस्तै मापदण्ड बनाउनुपर्छ ।
सम्भावना बोकेका र लगानी गर्नसक्ने क्लबलाई मात्र डिभिजन फुटबलमा ल्याइनुपर्छ । अब हुने ‘सी’ डिभिजन छनोटमै उक्त कुरा लागू गर्न सके त्यसले कुनै न कुनै रूपमा नेपाली फुटबल व्यवसायिक बनाउने अभियानमा ठूलो योगदान गर्नेछ ।
नेपाली फुटबलप्रति इमान्दार भएर भन्ने हो भने अब इतिहास र विगतका योगदानको भरमा सुखद भविष्य कल्पना गर्न सकिन्न । सबभन्दा पहिला क्लबहरूले नै विगतको आफ्नै भजन गाइरहनुभन्दा वर्तमानमा योगदान गरेर नेपाली फुटबलको भविष्य सुन्दर बनाउने यात्राको सारथिका रूपमा आफूलाई उभ्याउनुपर्छ । निजी क्षेत्रसँगको सहकार्यमा ठूलो लगानी भित्र्याउनुपर्छ । थाइल्यान्डको तल्लो श्रेणीका क्लबहरूले समेत थालिसकेको अभ्यास गरिनुपर्छ । अन्यथा फुटबल नेतृत्वले कठोर कदम चाल्न हिच्किचाउनुहुन्न ।
यदि अझै पनि थालनी नगर्ने हो भने २० वर्षपछि पनि क्लबहरू आफ्ना घिसिपिटी इतिहासका ‘गौरव गाथा’ गाइरहेका हुनेछन् । सुशासन, पारदर्शिता, व्यावसायिक फुटबललगायतका राजनीतिक नारा घन्काएर स्वार्थ समूहहरूले नेपाली फुटबलको नेतृत्व गरिरहेका हुनेछन् । र, हामीजस्ता फुटबलप्रेमी अहिले नेपालभन्दा पछि रहेका भुटान, श्रीलंका वा अन्य कुनै देशको भ्रमणपछि यस्तै सुझाव लेखिरहेका हुनेछौं । किनकि त्यो बेलासम्म थाइल्यान्ड त नेपाली फुटबलको पहुँचभन्दा धेरै माथि पुगिसकेको हुनेछ ।