काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा सोमबार दुई विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लब आमने सामने हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको सातदोबाटोस्थित मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
सुपर स्टेज सुरु हुनुअघिदेखि नै बहुप्र्रतिक्षित रुपमा लिइए पनि यो खेल प्रतियोगिता यात्रामा दुुवै टोलीका लागि औपचारिकता मात्र हुनेछ । किनभने यो खेलको नतिजाले अंकतालिकामा कुनै पनि फरक पार्नेछैन । दुबैले प्लेअफमा स्थान बनाइसकेका छन् ।
पछिल्ला ६ खेलमा स्पष्ट १८ अंक जोडेको एपिएफले क्वालिफायर १ मा स्थान बनाइसकेको छ । पुलिसले पनि इलिमिनेटर खेल्ने पक्का भइसकेको छ ।
तर, फुटबल तथ्याङ्कको मात्र खेल होइन, नतिजाले धेरै अर्थ राख्छ । एक–अर्काविरुद्ध श्रेष्ठता सावित गर्ने सवालमा नतिजा महत्वपूर्ण हुन्छ । अझ दुई विभागीय टिमको प्रतिद्वन्द्वीतामा नतिजाले अंकतालिकामा कुनै अर्थ नराखे पनि महत्व बोक्छ । पुलिसलाई यो विभागीय डर्बीमा गोलको खडेरी तोड्ने दबाब छ ।
विभागीय डर्बी अर्थात प्रतिष्ठाको लडाई पुलिससामू बदला लिनुपर्ने दबाब पनि हुनेछ । सुपर स्टेजको पहिलो लेगमा पुलिसले ६–० को फराकिलो हार बेहोरेको थियो । यो हार पुलिसले विर्सेको छैन । सोमबार पुलिसलाई कम्तिमा पनि एपिएफलाई जित्न नदिने चुनौती हुनेछ । तर, यो भनिरहँदा लिगमा पुलिसको अवस्था नाजुक छ ।

पुलिसले सुपर स्टेजअघि क्वालिफायर १ मा स्थान बनाउने लक्ष्य राखेको थियो । तर, विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मीविरुद्ध हार बेहोर्दा पुलिसको यो चुनौती समाप्त हुन पुग्यो । जसका कारण पुलिसले अब इलिमिनेटरमा बागमती युवा क्लबविरुद्ध खेल्नुपर्नेछ । पुलिस शीर्ष दुईमा अटाउन नसकेको प्रमुख कारण हो, अग्रपङ्क्तिको कमजोर प्रदर्शन ।
दुई खेलयता पुलिसले विपक्षी पोस्टमा गोल गर्न सकेको छैन । पुलिसका फरवार्डले राम्रो अवसर सिर्जना गर्न सकेका छैनन् । पछिल्लो खेलमा पुलिसले तुलनात्मक रुपमा कमजोर बागमतीविरुद्ध गोलरहित बराबरी खेलेको थियो । जसले गर्दा पुलिस प्लेअफका लागि तर्सेको हुनुपर्छ ।
‘कतै बागमतीले स्तब्ध पार्ने त होइन !’ भन्ने पुलिसलाई लाग्न सक्छ । त्यसैले सुपर स्टेजको आफ्नो अन्तिम खेलमा पुलिस एपिएफविरुद्ध गोलको खडेरी तोड्न आतुर हुनेछ ।
तर, मूल प्रश्न एपिएफले पुलिसलाई गोल गर्न देला ?