सहिद स्मारक लिग

लिगका लागि कतार एयरवेजसँग सम्झौता नवीकरण

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ ।

बुधबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद एल इमामले एक वर्षका लागि नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरे ।

लिग शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

२०७६ सालमा भएको लिगको पछिल्लो संस्करणको समेत प्रायोजन गरेको कतार एयरवेजले आगामी सिजनमा पनि यसलाई निरन्तरता दिने एयरवेजका कन्ट्री म्यानेजर मोहमद एल इमामले बताए ।

यस्तै एन्फा अध्यक्ष शेर्पाले सबै स्तरका लिगलाई अझै बलियो बनाउन एयरवेजको प्रायोजनका लागि आफूले कतार फुटबल संघसमक्ष प्रस्ताब राखेको बताए ।

‘यो सम्झौता नवीकरणसँगै आगामी समयमा रकम वृद्धि गर्ने आश्वासन पनि हामीलाई दिनु भएको छ,’ शेर्पाले भने, ‘गर्त वर्ष पनि लिग आयोजना भएको भए यसपाली प्रायोजन रकम बढ्थ्यो । तर, कोभिड १९ महामारीका कारण गत वर्ष लिग गर्न सकिएन । अर्को वर्ष बढ्नेमा आशावादी छौं ।’

एयरवेजका कन्ट्री म्यानेजर एल इमामले एन्फासँगको सम्झौता पेरिस सेन्ट जर्मन (पिएसजी) र बायर्न म्युनिखसँगको जस्तै सम्झौता भएको बताए । उनले फुटबलको विकास एयरवेजको प्रमूख लक्ष्य रहेको बताउँदै सम्झौता गर्न पाउँदा खुशी लागेको बताए ।

कतार एयरवेजले लिगको प्रायोजन स्वरुप एन्फालाई १ करोढ ५० लाखभन्दा बढी रकम दिने बताइएको छ । तर यकिन रकम भने खुलाइएको छैन ।