काठमाडौं । शनिबार नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा दुई खेल हुँदैछन् । चारमध्ये तीन टोली दोस्रो जितको लक्ष्यमा हुनेछन् ।
दिनको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सको सामना गर्नेछ । सोमपाल कामी मार्की रहेको टोलीले पहिलो खेलमा मंगलबार चितवन राईनोजििवरुद्ध चार विकेटको हार बेहोरेको थियो । उता लुम्बिनीले बिहीबार चितवनलाई नै हराएर प्रतियोगिताको सुखद सुरुआत गर्यो ।
अघिल्लो सिजन कर्णालीले लुम्बिनीमाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको थियो । रोहित पौडेल मार्की रहेको लुम्बिनीले १२८ रनको सामान्य लक्ष्य पछ्याउन सकेको थिएन । लुम्बिनीलाई शनिबार कर्णालीसँग बदला लिने अवसर छ । यो खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।
दिनको दोस्रो खेलमा विराटनगर किंग्सले काठमाडौं गोर्खाजसँग खेल्नेछ । मंगलबार पहिलो खेलमा विराटनगरले सबैभन्दा धेरै योगफल खडा गर्ने आफ्नै कीर्तिमानलाई भंग गरेको थियो । पोखरा एभेन्जर्सविरुद्ध २२१ रनको लक्ष्य प्रस्तुत गरेको विराटनगर पछि ५३ रनले विजयी रह्यो । विराटनगर यही लयलाई कायम राख्न चाहन्छ ।
काठमाडौंका लागि यो तेस्रो खेल हो । पछिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले हारेको काठमाडौंले उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो । अघिल्लो सिजन यी दुईबीचको खेल पनि रोमाञ्चक भएको थियो । ११८ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौंले एक विकेटको जित हासिल गरेको थियो । विराटनगरलाई शनिबार त्यो नमिठो हारको बदला लिने अवसर छ । खेल दिउँसो ३ः३० बजे हुनेछ ।
