काठमाडौं । एसियन प्रिन्टसले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा कर्णाली याक्सले जित्ने हरेक खेलबापत कर्णाली प्रदेश क्रिकेट संघले १ लाख रुपैयाँ पाउने भएको छ ।
कर्णालीका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतका अनुसार टोलीको सह प्रायोजक एसियन प्रिन्टसले कर्णालीको क्रिकेटको विकासका लागि यस्तो घोषणा गरेको हो ।
यसैगरी कर्णाली याक्स स्पोर्टस प्रालिले कर्णाली प्रदेश क्रिकेटसँगको समन्वयमा प्रदेशका विभिन्न शहर, धार्मिक स्थल तथा पर्यटकीय क्षेत्रमा ट्रफी टुर सम्पन्न गरेको छ ।
मंगलबार सल्यानको कुपिण्डे ताल र खलंगा बजारबाट सुरु भएको ट्रफी टुर बुधबार सुर्खेतको काँक्रेविहारसँगै विरेन्द्रनगर पुगेको थियो । यसैगरी बिहीबार प्रसिद्ध धार्मिकस्थल देउतीबज्यै मन्दिरमा पुर्याएर ट्रफीलाई सुदूरपश्चिम पठाइएको थियो ।
बुधबार काँक्रेविहारबाट कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले ट्रफी अनावरण गरेका थिए ।
कर्णालीले दोस्रो सिजनमा पनि ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ ।
यसैगरी गत सिजन दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले मार्की सोमपाल कामीसहित गुल्शनकुमार झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरीलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ । यसैगरी टोलीले मिनी अक्सनबाट पवर सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
कर्णालीले एनपिएलको दोस्रो संस्करणका लागि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बोसिस्टोसँग सम्झौता नवीकरण गर्दा मार्क वाट र म्याक्स ओ’ डाउडलाई नयाँ खेलाडीका रूपमा भित्र्याएको हो । वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी कर्णालीसँगै पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि भिड्ने छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
